मनको यात्रा जोरायलतिरै
तीर्थराज भट्ट
प्राकृतिक सिङारपटारमा बेहुली सजिएजस्तै ठाउँ। पाण्डवकालीन इतिहास बोकेको पौराणिक ठाउँ। बाइसे चैबीसे राज्यका राजाका कोट भएको ऐतिहासिक ठाउँ। पहाडको माल वा उपत्यकाको स्वरुपमा रहेको ठाउँ। मौलिक कला र परम्पराले भरिएको ठाउँ जे भने पनि हुन्छ, डोटीको जोरायललाई। एकातिर कर्मनाशाका छालहरू छचल्किरहेका छन् भने अर्कातिर मान्छेका मनहरू नाचेका छन् : बरम छहरासँगै, भीमक्षेदन शीलासँगै, द्रोपदी चौतारासँगै, मुलाइचका खानसँगै, प्राचीन कालीन गुफासँगै, ज्वालादेवीमा झुल्किने घाम र बाँझिलेकको खानबाट अस्ताउने घामसँगै । यिनैसँग छ मेरो पिरती, यिनैसँग छ मेरो गौरव र यिनैसँग छ मेरो अपनत्वको साइनो।
कैयौं मीठा पल–पल बिते, यादले याद राख्ने,
बाख्रा हेर्दै वनसित भुली, प्रीतको गीत डाक्ने ।
सम्झी बस्थें दिन रहरका लाख तस्वीर हेरी,
खेलानाला अनि बगरको, सम्झना आज फरि ।।
कर्मनाशाका छालहरूको अनुकरण गरी हृदयमा छाल हानिरहने यादहरूको बाढीमा पौडी खेल्नुको मजा बेग्लै हुँदो रहेछ। यो मन तिनै छालहरूसँगै छचल्किँदै पखानमा ठोकिन्छ, ढुङ्गामा रोकिन्छ त कहिलै सल्सल्ति बग्दछ ह¥याल परेका चिफला ढुङ्गामा चिफल्किदै । कहिलै वाफ बनेर बादलमा परिणत हुन्छ र त्यहीँ सिक्दछ, पानीको हाड देखाउने सीप र धर्ती आकाशको खुर्कुटिको कला । कहिलै एकोहोरो टोलाउँछ र प्राकृतिक सौन्र्दयले सज्जित जोरायलको चित्र सम्झी चित्त बुझाउँछ।
जहाँ छन् प्राचीन सभ्यताका शील्पकला र ऐतिहासिक परिदृष्यहरू त्यहीँ छ यो मन पनि । जब नजरमा परी मनमा सर्दछ भीमक्षेदन शीलाको चित्र तब उब्जिन्छन् मनमा अचम्मका भावहरू ! भीमको साहस देखेर छक्क पर्छु । कसै बेला विश्वास लाग्दैनन् बाजेहरूले सुनाएको कथा । जब विश्वास लाग्दैन किंबदन्तीमा तब पुनः पुनः हेर्छु, भीमक्षेदन शीलालाई । हातले मुसार्छु र सोच्छु साँच्चै त्यो तरबार त्यो बल र त्यो पौरख कस्तो हुँदो हो ! जसले चक्कुले आलु काटेझैं दुई टुक्रा बनाइदिएछ सिङ्गो ढुङ्गालाई । मलाई सम्झना आइरहन्छ, मेरा बाजे उमेरका तमाम व्यक्तिले सानै उमेरमा मेरा कान भरिदिएका कुराको । “यो ढुङ्गो अरूजस्तो सामान्य होइन, द्वापर युगमा राक्षस जरासन्धलाई तर्सउन भीमले काटेको हो । ”
जहाँ जोरायल छ त्यहाँ द्रोपती चौतारो छ, बरम छहरा छ, सिङ्गो पाण्डवकालीन इतिहास छ र बाइसे चौबीसे राज्यका भग्नाशेष कोटहरू छन् अर्थात जहाँ अनेक खोलानाला छन,् मैदानी भूभाग छ र हरियो जंगल छ, मनमोहक दृश्य छ, त्यहाँ जोरायल छ । हरियो जंगलभित्र लालीगुराँस मात्रै फुल्दैनन्, पल्लविको कोखमा कोइली मात्रै गीत गाँउदैनन् त्यहाँ स्वतन्त्र तरिकाले स्रजकहरू खुल्दछन् र सृजनाहरू फुल्दछन् अनि सुनिन्छ ठाडी भाकाको मनमुग्ध गुञ्जायमान । जोरायली प्रकृतिको छत्रछाया र मायामा कर्मनाशा मात्रै बगिरहेको छैन, सिङ्गो नवरस बगिरहेको छ । अलंकार, रीति र छन्दको सुगन्ध मग्मगाइरहेको छ ।
बरम छहराको परम आनन्दमा निमग्न भएर छहरासँगै मीठा कुरा गरेका अपूरा झल्का पनि छँदै छन् मनभरि । हेर्न रहर लागिरहने तर हर्नलाई पनि डर सहनु पर्ने कठिन परिस्थिति अलि सहज भइदिएको भए त कति पुग्थे होला मेराजस्तै रहरका भोका मनहरू बरम छहरासाँग पिरती गाँस्न । साँच्चै ! भौगोलिक कठिनाइलाई बुझी हेर्नेबाटो निर्माण गरेको भए, सोहीअनकूलको संरचना निमार्ण गरेको भए, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेको भए, मेरी आमाले सुनाउनु पर्ने थिएन भूतको कथा । साना छन्जेल आमा भन्नुहुन्थ्यो, “बरम छहरामा नजानू त्यहाँ त तारेफुर्के राङ्गाको स्वरुपमा भूत आउँछ ।” खासमा त्यहाँ भूत थिएन । थियो त केबल अप्ठ्योरो बाटो र डर लाग्दो वातावरणीय परिवेश । जति डर लाग्दो र जोखिमपूर्ण छ यात्रा त्योभन्दा बढी रहर लाग्दो मनमोहक दृश्य छ बरम छहराको । पूरै नदीको पानीले तीस फिट माथिबाट हामफल्दाको दृश्य कति आकर्षक हुँदो रहेछ भन्ने कुरा बोध गराइरहेको छ : बरम छहराले।
सुँगालको डाँडाको सल्लेघारीको बीचमा अवस्थित सिद्ध बाबाको गुफाले पनि यो मनलाई निमन्त्रणा गरिरहन्छ । मैले सानैदेखि सुनेको थिएँ गुफाको बारेमा तर पनि हेर्ने अवसर धेरैपछि जु¥यो जसको याद पनि धेरैपछिसम्म रहिरहने छ । चारपाँच जना आरामले अट्ने ठाउँ, कति फराकिलो ! कति चिटिक्क ! कति कलाले भरिएको कलामया संरचना ! सँगै गएका साथीहरूले कुरा पनि ग¥योैँ । कसैले तास खेल्नका लागि उपयुक्त देखे । कसैले गोठाला आउँदा पानी प¥यो भने ओत लाग्ने ठाउँको रुपमा हेरे । कसैले प्रेमिकासँगको उपयुक्त भट्ने स्थलको रुपमा त कसैले घरमा रिसाएको दिन लुक्ने ठाउँको रुपमा । मैले भने कल्पना गरिरहँे यस्तो गुफा मेरो घर नजिकै भएको भए गुफाभित्रको एकान्तमा बसेर कति कविता लेख्थेँ होला । गुफाको सुन्दर बनोटलाई हेरेँ र सोचेँ, कडा चट्टानमा यति राम्रो कला प्रदर्शन गर्नेको जीवन कति सुन्दर हुँदो हो । वर्तमान समयमा करोडौँका मेसिनले आकार दिन नसक्ने आकार ढुङ्गा वा चट्टानमा पाउँदा म अचम्भित भएँ । काम गर्नेले गरिसके तर म कल्पनासम्म गर्न सकिरहेको छैन।
जब तिहार नजिक आउँछ तब मनमा आइहाल्छन् भौलो, देउसी र भोस्सोका लयात्मक स्वरहरू । “ए भोस्सा – भोस्सी रे भोस्से, यो भोस्सो कैको – भोस्सी रे भोस्से ।” प्रत्येक वर्ष कार्तिक कृष्ण पक्ष द्वितीया (भाइटीका) का दिन लाग्ने जोरायलको प्रसिद्ध मेला दुत्तेमा रमाउनुको आनन्द शब्दमा अट्ने त कुरै भएन । जोरायलका प्रत्येक गाउँगाउँबाट देविदेवताका पञ्चेबाजा घन्किने र चौलो नाचका साथमा भोस्सो खेल्ने परम्पराले सबैलाई तान्द छ र त घर पुग्दछन् परदेशीहरू । जोरायलको तल्लो पीडी र मल्लो पिडीका मानिसहरू फरक फरक लायनमा संगठित भएर आफ्नो शक्तिसहित एक अर्काको समूहमाथि उत्तेजित भएर कृत्रिम भिडान्त गर्दाको दृश्य, ठट्टा मजाकपूर्ण बल प्रदर्शनको प्रबलता दृश्य, रोचक र हेर्न लायक हुन्छ । जरासन्धलाई कुल्चिने, उसलाई माथि उठ्न नदिने हेतुले प्रत्येक वर्ष भोस्सो खेलिन्छ जोरायलमा । भोस्सो नखेलेमा जराजन्धको कुप्रभाव बढ्न गई अशान्ति हुने विश्वास रहेको छ । भोस्सो खेल्दा जरासन्ध त कुल्चिन्छ कि कुल्चिन्न तर कुल्चिन्छन् मनका अशान्ति, पीडा, र कुण्ठाहरू । अनि उब्जिन्छन् मनमा उत्साहका रङ्गहरू।
मैले गजल सुन्नु, गजल पढ्नु र गजल लेख्नुभन्दा पहिले नै भजन सुनेको थिएँ र गाएको थिएँ चण्डेश्वर मन्दिरमा । बिसौंको मेलामा खलेको सिस्नु र शिवरात्रीमा गाएका भजनहरूले बेलाबखत झस्काई रहन्छन् मलाई । बिसौंका राति शिव मन्दिरमा कतिका विवाह हुन्थे, कतिका व्रतिबन्ध, कहीँ डेउडा खेल त कतै भजन गायन । सम्झिन्छु ती दिनलाई लाहुरेहरू ठूलाठूला टेप बोकेर बडा सानका साथ आएका हुन्थे, हातमा टेप हुनेको कति ठूलो इज्जत हुन्थ्यो । हामी तिनै दृश्यहरू हेरेर रात बिताइदिन्थ्यौँ । तर अब यी कुराहरू कथाजस्तै भइसके । मैले पनि याद राखिराख्नु पर्ने छ, बिसौं र शिवरात्रीका गौरवमयी कहानीहरू । किनकि सुनाउनु छ सन्तानलाई र देखाउनु छ सामाजिक मर्यादाको सुनौलो मार्ग ।
अग्लो डाँडाको अग्लो धुरामा बसेर चारैतिर नजर घुमाउनुको स्वाद क्या ! मीठो लाग्छ मलाई । पद प्रतिष्ठालाई महत्त्वपूर्ण ठन्ने व्यक्ति माथिल्लो पोष्टमा पुग्न पाउदा, सांसदले मन्त्री पाउदा, प्रतीक्षारत प्रेमीप्रेमिका आपसमा भेट्न पाउदा जति खुशीको अनुभूति गर्छन् म त्योभन्दा बढी खुशीको अनुभूति गर्छु अग्ला डाँडामा बसेर मीठा कल्पनासँगै रमाउँन । ज्वालादेवी त्यसका लागि उत्तम ठाउँ हो, जो जोरायलकै शीरमा रहेको छ । जहाँबाट हेर्न मिल्दछ सुन्दर जोरायलको फाँटको समग्र दृश्य । ज्वालादेवी मैले भनेजस्तो उच्चो टकुरो मात्र होइन, भक्तिको केन्द्र हो, जोरायलको संरक्षणार्थ विराजमान ज्वालालेवीको पवित्र धार्मिक स्थल हो जोसँग मानिसका विश्वास जोडिएका छन्, आस्था जोडिएका छन् र भरोसाका भावहरू सबैसबैका मनमा सजिएका छन् ।]
डाँडाले हरियो सुदृष्य पहिरी, शोभा थुपार्यो कति !
नाँच्यो खेतमहाँ बुझेर पसिना, वास्ना दिँदै बास्मती ।
कर्नासा नद बग्छ भर्छ रमिता, मैदानमा चञ्चल ।
मेरो लागि सदैव पूज्य धरणी, प्यारो छ जोरायल ।।
जोरायल मेरो जन्मथलो र कर्मथलो मात्र होइन । ज्ञानको पाठ सिकाउने पाठशाल हो । साङ्गाबाङ्गा अक्षर लेख्न सिकाउने असल गुरु हो । रहडकी कोशेली दिने प्रेमिका हो । त्यसैले पनि होला यो मनले सदैव जोरायलको सचित्र वर्णन गरिरहन्छ :
तिम्रो फोटो नयनभरि नै टल्कियो आज फेरि
पल्केकैथ्यो मन अझ बढी पल्कियो आज फेरि ।
आशा होलान् मधुरस छुने फूल फुल्ला सुनौलो,
‘सुक्ने डाली’ मलजल हुँदा हल्कियो आज फेरि ।।
लेखक तीर्थराज भट्ट जोरायल डोटीका स्थानीय हुन्।