सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैमा कैलालीबाट घर जाने यात्रुहरुका लागि भोलीदेखि अग्रिम टिकट बुकिङ

२०७६ असोज ६, ०४:४० खबर संवाददाता

दशैमा प्रदेशको अस्थायी राजधानी कैलालीबाट घर जाने यात्रुहरुका लागि यातायात व्यवसायीहरुले मंगलवारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन्। यस क्षेत्रमा रहेका यातायात प्रालीहरुले दशैमा राजधानीबाट घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएका हुन्।

सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले भोलीदेखि नै धनगढी लगायतका कैलालीका विभिन्न स्थानबाट पहाडी जिल्ला जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला रहने बताए। उनले काठमाडौँबाट सुदूरपश्चिम आउने यात्रुहरुका लागि भने आईतवारदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको समेत जानकारी दिए। 

दशैँको अवधीमा काठमाडौँ र पहाडी रुटमा अन्य समयको भन्दा गाडीहरु थप्ने तयारी समेत रहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालीले जनाएको छ। यता रिभरसाईड यातायात प्राली कैलालीले पनि सुदूरपश्चिमका पहाडी जिल्ला जाने यात्रुहरुका लागि मंगलवार देखि नै अग्रिम टिकट बुकिङ खुला गर्ने जनाएको छ।

प्रालीका अध्यक्ष धिरज शाहीले विभिन्न रुटमा साविकको भन्दा गाडीहरु थप गर्दै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको बताए। खप्तड मालिका यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशीले मंगलवार प्रालीको बैठक भएकोले अग्रिम टिकट बुकिङको बारेमा पनि सोही बैठकमा निर्णय हुने बताए।

कैलालीको अत्तरियामा प्रधान कार्यालय रहेको मालिका यातायात प्रालीका अध्यक्ष जयवहादुर खड्काले पनि केही दिनमै अग्रिम टिकट बुकिङ खुला गर्ने बताए। काठमाडौँबाट सुदूरपश्चिम आउने यात्रुहरुका लागि भने सबै यातायात प्रालीहरुले अग्रिम टिकट बुकिङ खुलाईसकेका छन्। सरकारले १० प्रतिशत भाडा बढाएपछि व्यवसायीहरुले टिकट बुकिङ खुल्ला गरेका हुन्।

यस्तै दशैँका तीन र तिहारका दुई दिन भने सुदूरपश्चिममा सार्वजनिक सवारीका साधनहरु क्यू फ्रिमा सञ्चालन हुने यातायात प्रालीहरुले जनाएका छन्। सबै यातायात प्रालीहरुले क्यु फ्रि मा बस छोडेपछि विगतमा यात्रुहरु समस्यामा परेका थिए। क्यू फ्रि भएपछि काउण्टरमा टिकट पाईदैन भने रुट अनुसार बस सञ्चालन हुँदैनन्। 
 

कमेन्ट लोड गर्नुस