सुदूरपश्चिम प्रदेशकाे नयाँ बन्ने सरकारले बजेट पुनर्लेखन गरेर पारित गर्ने
धनगढीः सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएपछि चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गरेर पारित गर्ने तयारी गरिएको छ ।
प्रदेश सभा सदस्य मानबहादुर धामीका अनुसार चालु आर्थिक वर्षमा बजेट शून्यताको अवस्था सिर्जना भएकाले नयाँ सरकारले बजेट पुनर्लेखन गरी पारित गरेर आर्थिक गतिविधिलाई अगाडि बढाउनेछ । बजेटका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रम भने यसअघि नै प्रदेश सभाबाट पारित भइसकेका छन् ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको नयाँ सरकारले बजेट पुनर्लेखन गरी पारित गरेर बजेट शून्यताको अवस्था अन्त्य गरेको थियो । चालु आवमा पनि त्यस्तै परिस्थिति देखिएपछि नयाँ सरकारले सोही प्रक्रियाबाट बजेटलाई अघि बढाउने तयारी गरेको हो ।
धामीले नयाँ सरकार गठनलगत्तै बजेट पुनर्लेखन गरी पारित गर्ने र प्रदेशको बजेटसम्बन्धी अन्योल अन्त्य गर्ने बताए।