सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीले गर्यो तीन वटा भवनको एकसाथ शिलान्यास

२०७६ भदौ २४, ०५:०७ खबर संवाददाता

नेपाल प्रहरीको तीन वटा भवनको एक साथ शिलन्यास गरिएको छ। नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाण्डौ र बहुउद्देश्यीय भवनको एक साथ शिलान्यास गरेको हो। मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकुमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाण्डौ र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास गरेका हुन्।

२०७२ सालको महाभूकम्पले हनुमानढोकामा रहेको महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि त्रिपाल मुनि बसेर सेवा प्रदान गर्दे आएको थियो। अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो। तीनवटै स्थानमा भवन निर्माणको शिलान्यासपछि नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी अक्षरशः पालना गर्न मातहतलाई निर्देशन दिए।

जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको उल्लेख गर्दे उनले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्दै पारदर्शिता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिनुपर्नेमा पनि सचेत गराए। प्रहरीको काम कारबाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधैँ सचेत र सजग हुनुपर्नेमा उनको जोड छ।

उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षक इञ्जिनियर लोकेश चन्द्र सिंंहले तीनवटै भवनहरु अत्याधुनिक सुविधासम्पन्न बनाइनुको साथै २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको बताए। टेकुमा ९ रोपनी क्षेत्रफलमा बनाउन बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार  वर्ग फिटको हुने छ भने भद्रकालीमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमण्डौको भवन १२ रोपनी क्षेत्रफलमा १ लाख ७२ हजार वर्ग फिटको हुने प्रहरी नायब महानिरीक्षक सिंंहले बताए।

यस्तै नेपाल पुलिसको बहुउद्देश्यीय भवनमा ७ सय ५० जना क्षमताको हलसहित विभिन्न कन्फरेन्स हलहरु समेत रहने छन्। सबै भवनहरु भूकम्पप्रतिरोधी हुनुका साथै वातावरण मैत्री हुनेछन् भने विषयगत निकायहरुका भिन्ना भिन्नै चेम्बर पनि बनाइने बताइएको छ।

कमेन्ट लोड गर्नुस