तिमीलाई सुम्पिएको मुटु
पचास वर्षपछि...
कहिलेकाहीँ समयले भित्ते घडीमा होइन, सम्झनामा आफ्नो यात्रा नाप्दो रहेछ।
आज फेरि म महेन्द्रनगरको त्यही कृष्ण मन्दिरको प्राङ्गणमा उभिएको छु। यही मन्दिर, जहाँ आधा शताब्दीअघि एउटा रात मैले निदाउन नसकेर बिताएको थिएँ। त्यो रात मसँग न निद्रा थियो, न भविष्य। केवल एउटा नाम थियो-बाटुली।
मानिसहरू भन्छन्, समयले सबै घाउ निको पार्छ। तर केही घाउ निको नहुने रहेछन्; तिनीहरू केवल हाम्रो अस्तित्वकै एउटा अंश बन्दा रहेछन्। बाटुली मेरो घाउ होइनन्, उनी त मेरो श्वासभित्र मिसिएको स्मृति हुन्। त्यसैले उनी गएको पचास वर्ष बितिसक्दा पनि मैले उनलाई कहिल्यै गुमाएको अनुभूति गर्न सकिनँ। उनलाई अहिले पनि मैलै आफ्नै वरिपरि रहेको महसुस गर्छु।
मेरो जीवनमा धेरै मान्छे आए, धेरै अनुहार देखिए, धेरै ऋतु फेरिए। धेरै मान्छेले सँगसँगै समय कटाउने प्रस्ताव गरे। तर मेरो मुटुको ढोका एउटै व्यक्तिका लागि खुलेको थियो, र त्यो ढोका उनी गएपछि फेरि कहिल्यै कसैका लागि खुलेन।
मानिसहरूले मलाई फकाउने प्रयास गरे। धेरैले विनय भावमा प्रश्न गरे— 'विवाह किन गर्नुभएन?' "एक्लै किन बस्नु हुन्छ? एक्लै जीवन बिताउन सकिन्छ?' 'यति लामो समय कसरी एकसरो सम्झनामा बाँच्न सक्नुभयो?'
मैले कहिल्यै लामो उत्तर दिन आवश्यक ठानेन। म मुस्कुराउँथेँ र भन्थेँ, 'जसलाई मैले मुटु सुम्पिएको थिएँ, त्यो मुटु फिर्ता नै आएन, अनि मैले अर्को निर्णय गर्न आवश्यक नै ठानेन।'
आज मेरो कपाल सेताम्य भइसकेको छ। हातका नसाहरू उमेरको इतिहास सुनाउँछन्। आँखाको नानीले आँगनको डिल अगाल्न सक्दैनन्। तर एउटा स्मृति भने आज पनि साउनको चौरको दुबो झै उस्तै हरियो छ- एउटी सानी केटी, जसलाई संसारले वसन्ती भनेर चिने पनि मैले पहिलो पटक 'बाटुली' भनेर बोलाएको थिएँ।
त्यो एउटा सम्बोधनले सायद उनको नाम मात्रै होइन, मेरो सम्पूर्ण जीवन पनि बदलिदियो।
हाम्रो गाउँबीच एउटा सानो खोला थियो। खोलाको वारिपट्टि मेरो गाउँ, पारिपट्टि उनको। बिहान विद्यालय जाँदा हामी त्यही गोरेटोमा भेटिन्थ्यौँ। साँझ फर्कँदा फेरि त्यही बाटोले हामीलाई घर पुर्यापउँथ्यो। हामीलाई कहाँ थाहा थियो—त्यही गोरेटोले दुई बालमनलाई एउटा यस्तो यात्रामा डोर्यायइरहेको थियो, जसको अन्त्य मृत्युले पनि गर्न सक्ने थिएन।
त्यो बेला हामी प्रेम बुझ्दैनथ्यौँ। हामी केवल एकअर्काको साथ बुझ्थ्यौँ। बाटुली मेरी निकटकी साथी थिइन्, म उनको मिल्ने साथी अर्थात् बेष्ट फ्रेन्ड।
सायद साँचो प्रेमको जन्म पनि त्यहीँ हुन्छ—जहाँ प्रेम शब्द नै जन्मिएको हुँदैन।
गोरेटोमा जन्मिएको सम्बन्ध
उनको नाम वसन्ती थियो। तर गाउँमा उनलाई त्यो नामले चिन्ने मानिस कमै थिए। घरमा सबैले उनलाई प्रेमले 'बाटुली' भन्थे। किन त्यो नाम राखियो भन्ने कुरा मैले पछि उनकी बज्यैबाट सुनेँ। सानी छँदा उनी यति राम्री, गोलो अनुहारकी र मिलेको शरीरकी थिइन् कि बज्यैले स्नेहले 'मेरी बाटुली' भन्न थाल्नुभएको रहेछ। समयसँगै त्यो सम्बोधन उनको वास्तविक नाम 'वसन्ती' भन्दा बलियो बन्यो।
पहिलो दिन मैले पनि उनलाई वसन्ती भनेर होइन, 'बाटुली' भनेर बोलाएको थिएँ, स्कुलमा। उनी मुस्कुराइन्। त्यो मुस्कानमा कुनै बनावटीपन थिएन। उनको मुस्कान बिहानीको घामले ओसमा टल्काएको उज्यालोजस्तै निर्मल थियो। त्यो मुस्कान अहिले पनि झलझली याद आउँछ।
सायद त्यही दिनदेखि उनी मेरो जीवनमा 'वसन्ती' होइन, सधैंका लागि 'बाटुली' भइन्।
हाम्रो गाउँ फरक थियो। बीचमा एउटा सानो खोला बग्थ्यो। खोलाको दुवैतिर फैलिएको सार्वजनिक वन, वनपारि उनको गाउँ र वनयतातिर मेरो। दुई गाउँबीचको दूरी धेरै थिएन, तर त्यही दूरीले हरेक बिहानको भेटलाई विशेष बनाइदिएको थियो।
उनी आफ्नी बज्यैसँग हाम्रो घरसम्म आइपुग्थिन्। त्यसपछि हामी सँगै विद्यालयतर्फ लाग्थ्यौँ। गोरेटोमा हिँड्दै गर्दा बाटोभरि अरू साथीहरू पनि मिसिँदै जान्थे। तर भिडभित्र पनि मलाई सधैं लाग्थ्यो, म बाटुलीसँगै हिँडिरहेको छु। उनलाई नै पछ्याइरहेको छु।
बाल्यकालमा मित्रता घोषणा गरेर हुँदैन। त्यो त बिस्तारै मनभित्र उम्रन्छ। हामीबीच पनि त्यस्तै भएको थियो। हामीले हामी असल मित्र हौँ भनेर कहिल्यै सफाइ दिनु परेन।
स्कुलका दिनहरूमा उनी सधैं अगाडिको बेन्च रोज्थिन्। म पनि उनको नजिकै बस्ने उपाय खोज्थेँ। कक्षामा शिक्षकले प्रश्न सोध्दा उनको हात सबैभन्दा पहिले उठ्थ्यो। उत्तर पनि प्रायः सही नै हुन्थ्यो।
पढाइमा उनी अब्बल थिइन्। हस्तलेखन मोतीका दानाजस्तो सफा। चित्र बनाउँदा कागजमा रङ मात्रै भरिँदैनथ्यो, जीवन नै मुस्कुराउँथ्यो। नाचगानमा पनि उनी सबैकी रोजाइ थिइन्। म भने त्यस्तो प्रतिभाशाली थिएन।
तर एउटा अनौठो कुरा भयो भने उनको साथले मलाई पनि विस्तारै बदल्दै लग्यो।
उनले कापी सफा राख्थिन्, मैले पनि राख्न सिकेँ। उनका अक्षर राम्रा थिए, मैले पनि उस्तै बनाउन सिकेँ।
उनी कपाल कोरेर, चिटिक्क लुगा लगाएर विद्यालय आउँथिन्, म पनि आफूलाई मिलाउन थालेँ।
उनले सुन्दर कविता लेख्थिन्, मैले उनको कविता हेरेर आफ्ना कविता कोर्न थालेँ।
सायद मानिसले जीवनमा सबैभन्दा धेरै सिक्ने शिक्षक किताब होइन, कुनै प्रिय मानिस हुन्छ।
बाटुली मेरो पहिलो शिक्षक थिइन्। उनी यस्ती गुरू थिइन् जोसँग म डराउँदैन थेँ। मलाई उनको उपस्थिति कहिल्यै असहज लागेन, न त उनले मलाई त्यो रुपमा नै लिइन।
मलाई आज पनि थाहा छैन, उनले मबाट के सिकिन्। तर मैले उनीबाट अनुशासन सिकेँ, मेहनत सिकेँ, विनम्रता सिकेँ। घरको कामलाई लाज नमानी गर्ने बानी सिकेँ। घाँस कसरी काट्ने, दाउरा कसरी मिलाउने, ठूलालाई कसरी सम्मान गर्ने—यी सबै पाठ कुनै विद्यालयले होइन, बाटुलीले पढाएकी थिइन्।
****
कक्षा तीनसम्म पुग्दा हामी यति अभिन्न भइसकेका थियौँ कि उनी विद्यालय नआएको दिन मेरो पनि मन विद्यालय जाँदैनथ्यो। 'बाटुली आएपछि मात्रै जान्छु,' भनेर म घरमै बसिदिन्थे।
आमाले सम्झाउनुहुन्थ्यो। बुबाले हप्काउनुहुन्थ्यो। तर मेरो जिद्दी एउटै हुन्थ्यो—बाटुलीबिनाको विद्यालय मलाई विद्यालय लाग्दैनथ्यो।
त्यो उमेरमा हामीलाई प्रेमको अर्थ थाहा थिएन।
तर आज, जीवनको उत्तरार्धमा उभिएर पछाडि फर्केर हेर्दा लाग्छ—प्रेमको पहिलो बिउ सायद त्यही गोरेटोमा रोपिएको थियो, जहाँ दुई बालबालिका काँधमा काठको कालोपाटी बोकेर भविष्यतिर हिँडिरहेका थिए, भविष्यले उनीहरूका लागि के लेखिसकेको छ भन्ने कुनै आभासबिना। क्रमशः...