ताक्लाकोटमा नेपाल–चीन सीमा बैठक, तिङ्कर नाका खोल्न नेपाली पक्षको जोड
दार्चुला: चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ताक्लाकोट (पुराङ काउन्टी) मा नेपाल–चीन सीमा सुरक्षा बैठक आयोजना गरिएको छ।
दार्चुलाको सीमावर्ती क्षेत्र तिङ्कर नाकानजिकै पर्ने ताक्लाकोटमा हुने बैठकमा दार्चुला, बझाङ र हुम्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए।
चीनको पुराङ काउन्टीस्थित स्थानीय प्रशासनले सीमा सुरक्षा बैठक आयोजना गर्ने आधिकारिक जानकारी पठाएपछि नेपाली सुरक्षा निकायका प्रमुखसहितको टोली ताक्लाकोटतर्फ गएको हो। सेप्टेम्बर १४ देखि १७ सम्म प्रस्ताव गरिएको बैठकमा सहभागी हुन दार्चुलाबाट प्रमुख जिल्ला अधिकारी पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति गुणराज न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक गौरव महत र व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहरा शनिबार त्यसतर्फ गएका छन्।
बैठकमा सहभागी टोली स्थलमार्ग हुँदै व्यास गाउँपालिकाको छाङरु, तिङ्कर र छ्यालेक हुँदै ताक्लाकोट पुग्ने कार्यक्रम रहेको पौडेलले बताए।
बैठकमा सीमा अपराध नियन्त्रण, व्यापार सहजीकरण तथा दार्चुलाका सीमावर्ती नागरिकलाई कैलाश मानसरोवर यात्रामा सहजता प्रदान गर्ने विषयमा छलफल हुने उनले बताए। कैलाश मानसरोवर जाने सबैभन्दा छोटो मार्ग तिङ्कर नाका हो।
बैठकमा नेपाल–चीनबीच नियमित रूपमा सीमा सुरक्षा बैठक आयोजना गर्नुपर्ने, दुई देशका सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेलगायतका विषय उठाउने तयारी रहेको पौडेलले बताए।
व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले तिङ्कर नाकालाई आधिकारिक नाकाका रूपमा सञ्चालन गर्नुपर्ने विषय बैठकमा उठाउने बताए। सौका समुदायका स्थानीयलाई विगतमा जस्तै ताक्लाकोट आवतजावतमा सहजता हुनुपर्ने तथा व्यापारीले ताक्लाकोट बजारबाट ल्याउने दैनिक उपभोग्य वस्तुको आयातमा सहजीकरण गर्नुपर्ने विषयसमेत राखिने उनले बताए।
नेपाली व्यापारी ताक्लाकोटमा
गत असार ९ गते तिङ्कर नाका खुलेपछि व्यास गाउँपालिका–१ अन्तर्गत छाङरु र तिङ्करमा बसोबास गर्ने सौका समुदायका स्थानीय व्यापारका लागि ताक्लाकोट पुगेका छन्।
गत २०८२ कात्तिकको अन्तिम सातादेखि बन्द रहेको नाका खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट गएको नेपाल–चीन हिमालय मैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहराले बताए।
छाङरु र तिङ्करका स्थानीयवासीले शताब्दीयौँदेखि ताक्लाकोट बजारमा व्यापार गर्दै आएका छन्। कोरोना महामारीका कारण लामो समय बन्द भएको तिङ्कर नाका गत वर्षदेखि खुल्न थालेको हो।
तिङ्कर नाका अझै आधिकारिक नाकाका रूपमा सञ्चालनमा नरहे पनि स्थानीयवासीले चिनियाँ स्थानीय प्रशासनसँगको समन्वयमा लामो समयदेखि यही मार्ग प्रयोग गर्दै ताक्लाकोट आवतजावत गर्दै आएका छन्।
नाका खुलेसँगै छाङरु र तिङ्करका ६३ जना व्यापारी व्यापारका लागि ताक्लाकोट पुगेका छन्। उनीहरूले केही महिना त्यहाँ खाद्य सामग्री र लत्ताकपडाको व्यापार गर्ने तथा त्यसबाट भएको आम्दानीले जीविकोपार्जन गर्दै आएका छन्।
ताक्लाकोटमा दार्चुलाका स्थानीयले ३२ वटा पसल र चारवटा होटल सञ्चालन गर्दै आएका छन्।