सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोकेबजारबाट ३ किलो ८५० ग्राम चरेस बरामद

२०८३ भदौ २८, ०८:५९ खबर संवाददाता

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ किलो ८५० ग्राम चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी डोकेबजारबाट सशस्त्र प्रहरी हवल्दार महेन्द्र विष्टको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि एक जना पुरुषले आफूले बोकेको जेब्रा झोला त्यहीँ छाडेर भारततर्फ भागेका थिए।

शंकास्पद अवस्थामा छाडिएको झोला नियन्त्रणमा लिएर चेकजाँच गर्दा वाईवाई चाउचाउको कार्टुनभित्र चरेसजस्तो देखिने गाढा खैरो पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पदार्थको शुद्ध तौल ३ किलो ८५० ग्राम रहेको छ।

यस्तै, झोलाबाट ईश्वरबहादुर धामीको नाममा जारी नेपाली नागरिकता प्रमाणपत्र, भारतीय आधार कार्ड, कर्नाटक राज्यको ड्राइभिङ लाइसेन्स, सवारी साधन दर्ता प्रमाणपत्र तथा नेपाली सिमकार्डका दुई वटा सिम एडप्टरसमेत बरामद गरिएको छ।

प्रहरीका अनुसार झोलाबाट २९ वटा वाईवाई चाउचाउसमेत बरामद भएको छ। बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी पचकडिया, कञ्चनपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

भारततर्फ भागेका व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस