सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बादर आतंक नियन्त्रण भएन, किसानले अन्नबाली लगाउनै छोडे

२०७६ भदौ २१, १०:५८ जनक विष्ट

बादर नियन्त्रण कार्यक्रम अन्तरगत बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ को कार्यालय र प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गत वर्ष दुई–दुई लाख बजेट खर्च गरेका छन्। बादर कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा विभिन्न सरोकारवाला निकायसँग गरिएको अन्तरक्रिया, छलफल एव्म कार्यक्रम र धपाउने काममा मात्र उक्त बजेट खर्च गरिएपनि उपलब्धी देखिएको छैन्।

स्थानीय स्तरमा बादर व्यवस्थापन समिति नै गठन गरिएको छ तर विगतको भन्दा अहिले बादरको आतंक बढेको छ। बादरको आतंक बढेपछि दशरथ चन्द नगरपालिका वडा नम्बर ५ का किसाले त बालीनाली लगाउन पनि छोडिसकेका छन्। वादर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका स्थानीय राजेन्द्र भट्टले बादर नियन्त्रणका लागि विभिन्न प्रयास भएपनि खासै उपलब्धी हासिल गर्न नसकिएको बताए।

बजेटको अभाव भएका कारण पनि सोचे अनुसारको उपलब्धी हासिल नभएको तर बादरको आतंक बढ्दै गएको भन्दै भट्टले चिन्ता व्यक्त गरे। बाली लगाएका किसानहरु समेत बादरबाट जोगाउन रातदिन बारीमै जाग्राम बस्ने गरेका छन्। बादरले बारी मात्र नभएर घरभित्रै प्रवेश गरी भण्डारण गरिएको अन्न समेत खाने गर्न थालेपछि स्थानीय हैरान भएका छन्।

पछिल्लो समय त बादरले बालबालिका, बृद्धबृद्धा तथा एक्लै हिडेको देखेमा आक्रमण समेत गर्ने गरेको छ। बदरको आक्रमणबाट केही दिन पहिले दुईंजना स्थानीय घाईते भएको बादर व्यवस्थापन समितिका अध्यक्ष भट्टले बताए। उनले दशरथ चन्द नगरपालिका ५ मा मात्र नभएर वडा नम्बर ४, ६, ८ र १० मा पनि बादर आतंक बढ्दै गएको बताए।

दशरथचन्द नगरपालिकाले यसवर्ष पनि बादर नियन्त्रण र व्यवस्थापनका लागि भन्दै १० लाख बजेट विनियोजन गरेको छ। प्रदेश र स्थानीय सरकारले किसानलाई बादरले दिएको हैरानीलाई मध्यनजर गरी नियन्त्रणको कार्यक्रम ल्याएपछि कसरी नियन्त्रण गर्ने भन्ने विषयको टुङ्गो नै लगाउन सकेको छैन्।

बादरलाई लखेटेर नियन्त्रण गर्न सम्भव नभएको विज्ञहरु बताउँदै आएका छन्। बादरको आतंक बढेको क्षेत्रमा समान्य बालीनाली नभई उसले मन नपराउने बाली लगाउएर नियन्त्रण गर्न सकिने विकल्प हुने भएकाले उक्त विकल्प कार्यान्वयन गर्ने रणनीति अपनाउनेतर्फ सोचिरहेको  डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताए।

उनले बादले टिपुर नखाने भएकाले त्यस क्षेत्रमा टिपुर खेती गरेमा नियन्त्रण हुने र स्थानीयले आम्दानी समेत गर्न सक्ने बताए। दरशथचन्द नगरपालिकाले पनि बादर नियन्त्रणका लागि विभिन्न चरणमा विज्ञहरुसँग गरिएका छलफलका आधारमा केही विकल्पहरु मिलेको जनाएको छ।

विज्ञहरुले दिएका सुझावका आधारमा वादर नियन्त्रणका लागि काम थाल्ने दशरथचन्द नगरपालिकाकी उपमेयर मीना चन्दले बताईन्। उनले विज्ञहरुले बादरको शरिरमा लागेमा चिलाउने खालको घाँस लगाउन सकिने, विभिन्न साईरनको आवाज मार्फत पनि बादर भगाउन सकिने सुझाव दिएकाले ती विकल्प अपनाउने योजना नगरपालिकाको रहेको जनाईन्। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस