सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य उपचार गरी प्रधानमन्त्री ओली आज सिंगापुरबाट स्वदेश फर्किँदै

। फोटो स्रोत ।
२०७६ भदौ २०, ०७:५० खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट शुक्रबार स्वदेश फर्किँदैछन्। उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए। स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने छन्।

मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो। सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन्। प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै सिंगापुर फर्किइसकेका छन्।

उपचारकै क्रममा सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषदका सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।

कमेन्ट लोड गर्नुस