कैलालीमा वर्षा नहुँदा राेपेकाे धान सुक्न थाल्याे
धनगढीः कैलालीका किसानको खेतमा रोपो सुक्न थालेको छ । असारमा पनि पानी नपरेपछि रोपाइँ भएको खेतमा रोपो सुक्न थालेको हो ।
वर्षा नभए पनि किसानले भूमिगत पानीबाट सिँचाइ गरेर धमाधम रोपाइँ गरिरहेका छन् तर अत्यधिक गर्मी र सुक्खाका कारण उनीहरूलाई रोपो जोगाउन धौ धौ भएको छ । पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ ।
रोपाइँ भएको खेतको जमिन सुकेर सेताम्मे भएको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीले बताए।
ग्रामीण क्षेत्रमा किसानले जेठ अन्तिमतिरबाटै रोपाइँ सुरु गरेका थिए तर असार पहिलो सातासम्म वर्षा नभएपछि उनीहरूले रोपो जोगाउन दोहोरो खर्च गर्नु परिरहेको छ । डिजल खर्चेर रोपाइँ गरेकोमा रोपोमा पानी हाल्न पुनः खर्च गर्नु परेकाले लागत बढिरहेको उनीहरूको भनाइ छ ।
पानी नपर्दा कृषकलाई रोपाइँ गर्न र रोपो जोगाउन निकै समस्या भइरहेको धनगढी उपमहानगरपालिका–१०, जुगेडाका रामदास रानाले बताए।
सुक्खा लम्बिएपछि भूमिगत जलस्रोतको पानी पनि सुक्न थालेको छ । बोरिङमा पानी सुकिरहेको किसानले जनाएका छन् । बोरिङ सुकेपछि बिचमै रोपाइँ रोकेको कृषक प्रदीपकुमार चौधरीले बताए।
नेपालमा यस वर्षको मनसुन असार ५ (जुन १९) गते प्रवेश गरिसकेको छ तर मनसुन कमजोर अवस्थामा रहेकाले देशको अन्य भूभागमा फैलिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालमा साधारणतया जुन १३ मा मनसुन प्रवेश गर्ने गरेकोमा यस वर्ष छ दिन ढिलो गरेर आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै धान रोपाइँको समय सुरु भइसक्दा पनि कैलालीका किसानले रासायनिक मल पाएका छैनन् । खेतमा धानको बेर्ना तयार भएर रोप्ने समय हुँदा पनि डिएपी र युरिया मल अभावका कारण रोपाइँ गर्न नपाएको किसानले गुनासो गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले डिएपी मल प्रतिबोरा दुई हजार ३९४ रुपियाँ तथा युरिया मल प्रतिबोरा ९४४ रुपियाँमा बिक्री भइरहेको छ । कम्पनीले जिल्लाका सहकारी संस्था तथा बिक्री केन्द्रमार्फत मल वितरण भइरहेको जनाएको छ । तर वितरण प्रक्रिया, कोटा प्रणाली तथा सहकारीमार्फत हुने आपूर्तिमा ढिलाइ हुँदा अधिकांश किसानले सहज रूपमा मल प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले कैलाली जिल्लाका लागि वार्षिक रूपमा युरिया १० हजार छ सय मेट्रिक टन, डिएपी सात हजार आठ सय मेट्रिकटन तथा पोटास छ सय मेट्रिक टन लक्ष्य निर्धारण गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख नवलसिंह बोगटीले निर्धारित कोटा अनुसार मल बिक्री तथा वितरण भइरहेको बताए। केही सहकारी संस्थाले अझै मल उठाउन बाँकी रहेकाले वितरण प्रक्रियामा केही ढिलाइ भएको उनको भनाई छ।
उनले कैलालीमा युरिया एक हजार ७५५ मेट्रिक टन, डिएपी दुई सय १३ मेट्रिक टन तथा पोटास २८१ मेट्रिक टन बाँकी रहेको जानकारी दिए।
कैलालीलगायत सुदूरपश्चिम प्रदेशमा धान रोपाइँका लागि २८ हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्ने गर्दछ । किसानले मल र सिँचाइ दुवै समस्याले कृषि उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । -गाेरखापत्रबाट सम्पादित अंश