रास्वपा महाधिवेशनमा पाहुनाका लागि होटलमा छुट सुविधा
चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकहरूको स्वागतका लागि चितवनका होटल व्यवसायीले विशेष छुट सुविधा उपलब्ध गराउने भएका छन्।
आगामी असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनका पाहुनाको सम्मानमा कुनै कमी हुन नदिने उद्देश्यले होटल तथा रेष्टुरेन्टहरूले आवास र सेवामा छुट दिने निर्णय गरेका हुन्।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार महाधिवेशनमा आउने पाहुनाका लागि आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो छुट भरतपुर महानगर र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा लागू हुनेछ।
त्यस्तै, छुटको कार्यान्वयन अनुगमन गर्न विशेष समिति समेत गठन गरिएको ओमप्रकाश पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार क्षेत्रीय होटल संघअन्तर्गत करिब ९० होटल रहेका छन्, जसको कुल क्षमता करिब १० हजार पाहुना अटाउने रहेको छ।
महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलहरूमा तीन हजारभन्दा बढी कोठा रास्वपाका प्रतिनिधि तथा पर्यवेक्षकका लागि प्रयोग हुने बताएका छन्।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवास खर्च आफैं व्यहोर्ने व्यवस्था गरिएको छ। होटल व्यवसायीहरूको यो पहलले महाधिवेशन अवधिभर पाहुनाहरूको बसाइ सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।