सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसीअन्तर्गत १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न

२०८३ भदौ २८, ०३:५८ खबर संवाददाता

काठमाण्डाै: एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को न्यु बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म जोड्ने ४०० केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको ९ महिनाभित्रै निर्माण पूरा भएको हो ।

ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए–नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो ।

आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव एवम् एमसीए–नेपालका अध्यक्ष डा. घनश्याम उपाध्यायले यो निर्माणले नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशेढुङ्गा थपेको बताए। 

यस्तै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसीकी आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकिएको समयमै सकिनु प्रशंसनीय रहेको उल्लेख गरे। 

भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले १ करोड २३ लाख ८० हजार अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब ८९ करोड रुपैयाँमा २१ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रूत गतिमा काम गरेर पूरा भएको हो ।

नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढाइनेछ । एमसीसी अनुदानअन्तर्गत नेपालमा ३१५ किलोमिटर प्रसारण लाइन, ३ वटा सबस्टेशन र सडक सुधारका अन्य कामहरू पनि भइरहेका छन् ।

कमेन्ट लोड गर्नुस