सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँमा बाँझिएको जग्गामा अदुवा र बेसार

२०७६ भदौ १६, ०२:२७

गोरखा नगरपालिका–८ कट्टेलडाँडाका युवाहरु गाउँको बाँझो जमिनमा खेती गर्न जुटेका छन्। ४० जनाको समूह बनाएर उनीहरुले हलेदो र अदुवा खेती शुरु गरेका हुन्। उनीहरुले गाउँमा बाँझो बसेको ३५ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेका हुन्। समूहका उपाध्यक्ष रमणबाबु कट्टेलका अनुसार २० रोपनीमा हलेदो र १५ रोपनीमा अदुवा लगाइएको छ। २८ रोपनी जग्गा भाडामा र ७ रोपनी निशुल्क प्रयोग गरिएको उनले बताए।

उक्त जग्गामा १० क्वीन्टल हलेदो र ४ क्वीन्टल अदुवा रोपिएको छ। सल्यानको कपुरवोटबाट विरुवा ल्याइएको कट्टेलले जानकारी गराए। ‘हलेदो जति रोपिएको छ त्यो भन्दा आठ गुना बढी उत्पादन हुन्छ भनेर प्राविधिकले भनेका छन, १० क्वीन्टल रोपेका छौ, ८० क्वीन्टल उत्पादन हुन्छ भन्ने अनुमान छ,’ समूहका सदस्य उत्सुक कट्टेलले भने। अदुवा चार गुना बढी उत्पादन हुने प्राविधिकले बताएका छन्।

पहिलो बर्ष उत्पादन भएको हलेदो र अदुवा गाउँकै बाँझो जमिनमा रोप्ने समूहले योजना बनाएको छ। ‘गाउँको बाँझो जमिनमा खेती गर्ने लक्ष्यका साथ युवाहरु जुटेका हौ, पहिलो उत्पादनलाइ यहीँको बाझो जमिनमा रोप्छौ,’ समूहका अर्का सदस्य सुवोध कट्टेलले भने। गाउँमा करिव ८० प्रतिशत खेतीयोग्य जमिन बाझो रहेको समूहले अनुमान गरेको छ।

गाउँमा जमिन बाँझो रहन नदिने लक्ष्य लिएको समूहले आगामी बर्ष करिव ३ सय रोपनी क्षेत्रफलमा खेती बिस्तार गर्ने योजना बनाएको छ। परीक्षणका लागि खेती शुरु गरिएको बताउदै कट्टेलले भने, ‘यो बर्ष राम्रो उत्पादन भयो भने अर्काे बर्ष पनि हलेदो र अदुवा रोप्छौ, भएन भने अर्कै खेती शुरु गर्छाै।’

कामको सिलसिलामा जिल्ला वाहिर बस्दै आएका युवाहरुले समूह गठन गरी खेती सुरु गरेका हुन्। यो समूहमा २० देखि ४५ बर्ष उमेरसमूहका व्यक्तिहरु रहेका छन्। समूहका केही सदस्य जिल्ला बाहिर बस्छन्। केही सरकारी कर्मचारी हुन्। तर उनीहरु प्रत्येक महिनाको शनिबार गाउँमा भेला हुन्छन्। हलेदो र अदुवा खेती गोडमेलमा आफैं जुट्छन्।

समूहका सदस्यले १०÷१० हजार रुपैयाँ जुटाएर २ लाख र्पुयाएर खेती सुरु गरेका हुन् । बिक्री वितरण नभए पनि लामो समय सम्म नविग्रने र अन्य खेतीलाइ जस्तो स्याहार सुसार गर्न नपर्ने भएकाले हलेदो र अदुवा खेती रोजिएको समुहका उपाध्यक्ष कट्टेल बताउछन्। ‘बादरले गाउँमा दुख दिएको छ, जे खेती गरे पनि नष्ट गरिदिन्छ, हलेदो र अदुवालाई भने केही गर्दैन रहेछ त्यही भएर पनि यही खेती रोजेका हौं,’ उनले भने।

गाउँको बाँझो जमिनहरुमा खेती विस्तार गर्दै जाने लक्ष्य समूहले लिएको छ। ‘बाँझो बसेको अरुको जग्गा खेती गर्न हामीलाई दिनुस् भन्छौ, सकेसम्म निशुल्क माग्छौं नभए केही पैसा दिएर भए पनि खेती गर्छाै,’ उनले भने। मकै, घास समेत लगाएको समूहले आगामी दिनमा कफी खेती गर्ने लक्ष्य राखेको छ।

खेती गर्दै गर्दा व्यवस्थापन पक्षमा भने समस्या भएको समूहले जनाएको छ। ‘हलेदो र अदुवा खेतीमा घाँस बढी उम्रिदो रहेछ, गोडमेल गर्न समस्या छ फेरि छापो हाल्नका लागि स्याउला सामुदायिक वनबाट नपाउँदा समस्या भएको छ,’ कट्टेलले भने।
 

कमेन्ट लोड गर्नुस