सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमै नभएको दावी

२०७६ भदौ १५, ०२:१८ खबर संवाददाता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी गरेका छन्। उनले नेपालमा भन्दा छिटो कर्मचचारी समायोजन भएको विश्वमा कुनै मुलुक भए उदाहरण दिन पत्रकारलाई चुनौतीसमेत दिए। आइतबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उनले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी पनि गरे।

‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन’ उनले भने। मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको जानकारी दिए।

मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दावी गरे। भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितले बताए। उनले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गरे।
 

कमेन्ट लोड गर्नुस