सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाको आन्तरिक सर्कुलर जारी, पार्टीको नीति र नेतृत्वविरुद्ध लेख्ने र बोल्नेलाई कारबाही गरिने

२०७६ भदौ १३, ०६:१३ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको नीति र नेतृत्वविरुद्ध लेख्ने, बोल्नेलाई कारबाही गर्ने चेतावनीसहितको आन्तरिक सर्कुलर जारी गरेको छ। उसले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम आफ्ना कुरा राख्नु पर्ने तर सार्वजनिक रुपमा विरोध गर्न भने बन्देज गरेको हो। 

अन्तरपार्टी निर्देशन जारी गर्दै नेकपाले अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वको सम्बन्धमा सार्वजनिक रुपमा विरोध वा आलोचना नगर्न निर्दे्शित गरेको हो। पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने अन्तरपार्टी निर्देशनमा उल्लेख छ।

यस्तै पार्टी एकीकरणको कामले बढी नै समय लिएको भए पनि सहमति र समझदारीका साथ एकताको काम अन्तिम चरणमा आइपुगेको भन्दै उसले यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गरेर बाँकी कामलाई पूर्णता दिने पनि जनाएको छ। यस्तै नेकपाले अब नेता कार्यकर्ता तथा आम जनसमुदायलाई जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि जनाएको छ।

अन्तरपार्टी निर्देशन अध्यक्ष पुष्पकमल दाहाल मात्रैको हस्ताक्षरमा जारी गरिएको छ। यसअघि हरेक पत्र दुवै अध्यक्षको हस्ताक्षर हुने गरेको थियो। साथै अन्तरपार्टी निर्देशनमा सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओलीको स्वास्थ्यलाभको कामना पनि गरिएको छ।  

नेकपाले जारी गरेको आन्तरिक सर्कुलर हेर्न यहाँ क्लिक गर्नुहोस् :-

कमेन्ट लोड गर्नुस