सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

२०८३ जेठ २, ०१:०० रासस

काठमाडौँ: आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो। एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो। 

अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले। अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए। साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

कुनै समय बलियो अवस्था रहेको अमेरिकाको पारीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए। साथै सन्दीप लामिछाने र गुलशन झाले एक-एक विकेट लिए।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन्। दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो।
    
    आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। 
    
नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ। साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ। स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ। 

कमेन्ट लोड गर्नुस