सुदूर नेपाललाई विश्वसँग जोड्दै

रबि लामिछाने समर्थनमा प्रदर्शन गरिरहेका पाँच जना पक्राउ

२०७६ भदौ ९, ०५:१० खबर संवाददाता

चितवनमा रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु आगजनी र ढुंगामुढामा संलग्न रहेको प्रहरीको दावी छ। चितवनको भरतपुरमा जिल्ला प्रशासनले निषेधित क्षेत्र तोकेपनि झडप भने रोकिएको छैन। निषेधित क्षेत्रबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ।  

स्थानीय प्रशासनले जिल्ला अदालतको करिब पाँच सय मिटरको दुरीभित्र पाँच जनाभन्दा बढीको समूहमा हिँड्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ। तर प्रदर्शनकारीले भरतपुरका विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। रविलाई फसाउन खोजिएको भन्दै उनका समर्थकले दिनहुँजसो प्रदर्शन गरिरहेका छन्।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। आत्महत्याअघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।
चितवन जिल्लाका मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। सरकारी वकिल कार्यालय चितवनले तीनै जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदावी गरेका छन्।

कमेन्ट लोड गर्नुस