सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने सहित तीन जनाको थुनछेक बहस जारी

२०७६ भदौ ८, ०४:४४ खबर संवाददाता

आत्महत्या दुरुत्साहन कसुरमा मुद्धा चलाइएका रवि लामिछानेसहित तीन जनाको थुनछेक बहस चितवनका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा चलिरहेको छ। चितवन जिल्ला सरकारी वकिल कार्यालयले आजै मात्र जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो जसमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरिएको छ। थुनछेक बहसमा प्रतिवादीका तर्फबाट चार जना कानुन व्यवशायीले बहस गरिरहेका छन्।

थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ। बहसका लागि समय थोरै भएकाले आदेश आजै आउन सक्ने सम्भावना कम रहेको जिल्ला अदालत स्रोतले जनाएको छ।

प्रहरीले हिरासतमा लिएको ११ औँ दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो। रविलाई फसाउन खोजिएको भन्दै देशब्यापी आन्दोलन बढ्दो छ। सामान्यतयास् प्रहरीले हिरासतमा लिएको २५ दिनभित्र सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गर्नुपर्ने व्यवस्था छ। तर दबाबबीच प्रहरीले चाँडै अनुसन्धान सकेर मिसिल अगाडि बढाएको हो।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। सालिकरामले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा लामिछाने, कँडेल  र कार्कीका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।
 

कमेन्ट लोड गर्नुस