मनु शाहलाई प्रेम आलेको खुला चुनौती: ‘५७ जनाको नामावली सार्वजनिक नगरे कानुनी उपचार खोज्छु’
धनगढीः कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम बहादुर आलेले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएको कुरा भ्रामक, कपोकल्पित र आधारहीन भएको भन्दै आपत्ति जनाएका छन्।
आइतबार जारी प्रेस विज्ञप्तिमा आलेले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम स्वीकार गर्दै सम्पूर्ण मतदातालाई धन्यवाद तथा निर्वाचित उम्मेदवारलाई बधाई दिइसकेको स्मरण गराएका छन्। तर हाल सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ‘मनु’लाई ५७ जना कांग्रेसीले पैसा खाएको भन्दै आफूले नामावली उपलब्ध गराएको भन्ने आरोप पूर्णतः असत्य रहेको उनले स्पष्ट पारेका छन्।
आलेका अनुसार उनले जनताको निर्णयलाई सम्मान गरे पनि विपक्षी उम्मेदवारतर्फबाट आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले मनगढन्ते प्रचार गरिएको हो। उनले आफू २०६४, ०७०, ०७४ र ०७९ का संसदीय निर्वाचनमा डोटीबाट उम्मेदवार हुँदै आएको र कैलाली क्षेत्र नं. ५ का कांग्रेसी स्थानीय नेताहरूसँग समेत न्यून चिनजान मात्र रहेको अवस्थामा ५७ जनाको नामावली दिएको भन्ने कुरा शतप्रतिशत झुटो भएको दाबी गरेका छन्।
प्रेस विज्ञप्तिमा आलेले भनेका छन्, “यदि मैले कुनै व्यक्तिलाई पैसा दिएको वा नामावली उपलब्ध गराएको प्रमाण छ भने तत्काल सार्वजनिक गर्न म चुनौती दिन्छु। अन्यथा, यस्ता झुटा आरोप फैलाउनेहरूमाथि म कानुनी उपचारको बाटो अपनाउन बाध्य हुनेछु,”
प्रेस विज्ञप्तिमा आलेले यस्ता आधारहीन आरोपको कडा शब्दमा भर्त्सना गर्दै नेपाली कांग्रेसका उम्मेदवार शाहको अभिव्यक्तिलाई गैर–जिम्मेवार भएको टिप्पणी गरेका छन्। साथै, यदि आफूले कसैलाई पैसा दिएको वा नामावली उपलब्ध गराएको कुनै प्रमाण भए तत्काल सार्वजनिक गर्न उनले खुला चुनौती दिएका छन्।
अन्यथा, यस्ता झुटा आरोप फैलाउनेहरूमाथि कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने चेतावनी दिँदै सत्य–तथ्य बाहिर ल्याउन र जनतामा भ्रम नफैलाउन सम्बन्धित सबैलाई आग्रह गरेका छन्।