सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले यो सरकार लोकतन्त्रका लागि लडेको हो भनेर दोहोर्याइरहनु आवश्यक छैन : मिनेन्द्र रिजाल

। फोटो स्रोत ।
२०७६ भदौ १, ०३:२० खबर संवाददाता

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीले यो सरकार लोकतन्त्रका लागि लडेको सरकार हो भनेर दोहोर्याइरहनु आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनपछि आफ्नो धारणा राख्दै नेता रिजालले यो सरकार लोकतन्त्रका लागि लडेको नभइ लोकतन्त्रका लागि लडेकाहरु सरकारमा पुगेका होलान भन्दै यसप्रति हेक्का राख्न आग्रह गरे।

उनले  एक पटकको लडाइँले जीवनभर जे पनि गर्नलाई लाइसेन्स नदिने पनि स्पष्ट पारे। हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा र वाम आन्दोलनका लागि लडेकाहरुले पनि घुँडा टेकेको आफूहरुले देखेको भन्दै एक पटकको लडाइँले जीवनभरका लागि लाइसेन्स नदिने बताए।

अर्को चुनावपछि आफूलाई पनि सरकारमा बस्न मन नलागेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति व्यग्य गर्दै अर्को चुनावमा कांग्रेसबाहेक अरुको सरकार नबन्ने समेत उनको भनाइ छ। प्रधानमन्त्रीले यो कार्यकालसम्म सरकारमा आफै बस्ने भन्ने भनाइले सत्ता भित्रै तरंग गयो कि भन्ने आशंका समेत व्यक्त गरे।

पार्टी एकीकरणका बेला केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको कार्यकाल आधा आधाको सहमति भएको कुरा तर्फ इंकित गर्दै उनले भने,  प्रधानमन्त्री ओलीको अभिव्यक्तिले सत्ताभित्र तरंग गयो कि ?

नेता रिजालले प्रधानमन्त्रीले अहिले मन्त्रीहरुसँग कार्यसम्पादन करार गरिरहेको प्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले चुनावका बेला जनतासँग गरेको कार्यसम्पादन करार किन पूरा भएन भनेर प्रश्न समेत गरे।

कमेन्ट लोड गर्नुस