सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

२०७६ भदौ १, ०७:५५ खबर संवाददाता

आज भदौ १ गते, ओल्के सङ्क्रान्ति, सुदूरपश्चिममा हर्षोल्लासका साथ मनाइँदैछ। डोटेली भाषा शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउँछ। यो पर्वमा आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिने, मीठो–मसिनो खाने, हातमा मेहेन्दी लगाउने चलन रहेको छ। 

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई सुदूरपश्चिमका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहि आएको छ। सुदूरको लोकजीवनमा वर्षाको यामलाई विपत्तिको एकांकी समय मानिन्छ। बाढी पहिरोले गाउँहरूको आपसी सम्पर्कमा बाधा पुग्दछ।

प्रकृतिको रुपरंग फेरिन्छ। खोलानाला सुसाएका हुन्छन् भने हरियालीले पाखा पर्वत ढाकेको हुन्छ। कामको चटारोले कसैलाई फुर्सत हुँदैन्। “साउनकी काली रात” का डरलाग्दा किस्साहरू गाउँगर्खामा सुन्न पाइन्छन्। त्यसैले वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसियालीमा यो पर्व मनाउने प्रचलन रहेको छ।

कसरी मनाइन्छ
यो पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ। शिल्पकर्मीहरुले आ–आफ्ना सिर्जनासमेत पठाउन सक्दछन्। अचेल लुगा–कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने प्रचलन बढ्दो छ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबैजना मिलेर रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ”बुढी हालेको” भन्दछन्। यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा छ।

यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासङ्ग पनि जोडिएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो ‘बूढी पोल्ने’ पर्व मनाइने गरिन्छ। घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ। घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ। यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोगव्याधिबाट परिवारजन मुक्त हुने मान्यता छ।

कमेन्ट लोड गर्नुस