सुदूर नेपाललाई विश्वसँग जोड्दै

आसन्न निर्वाचन सुरक्षाका लागि सुदूरपश्चिममा 'मार्सल टिम' परिचालन

२०८२ माघ २५, ११:४६ खबर संवाददाता

धनगढी: आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित संयुक्त ‘मार्सल टिम’ परिचालन गरेको छ।

मार्सल टिमले प्रदेश तथा स्थानीय सरकार र प्रदेश तथा जिल्ला निर्वाचन सुरक्षा समितिसँग समन्वय तथा सहजीकरण गर्ने जनाइएको छ। सुदूरपश्चिम प्रदेश सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदानस्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको उपस्थिति बढाइने योजना बनाइएको मार्सल टिमको नेतृत्वले जनाएको छ।

टोलीले निर्वाचन सुरक्षा कार्ययोजना अनुसार काम भए–नभएको अनुगमन गर्नुका साथै निर्वाचन सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिको निगरानी र नियन्त्रणमा भूमिका निर्वाह गर्नेछ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना माघ २१ गतेदेखि नै फिल्डमा खटिइसकेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि आगामी सातादेखि निर्वाचन सुरक्षाकै लागि तैनाथ हुँदैछन्। राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू निर्वाचनलाई असर पार्ने गतिविधि र निर्वाचन आयोगद्वारा जारी आचारसंहिता विपरीतका क्रियाकलापको निगरानीमा खटिइसकेका छन्।

यसैगरी निर्वाचन सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगी जनशक्तिका रूपमा भर्ना गरिएका निर्वाचन प्रहरीलाई आधारभूत सुरक्षा तालिम प्रदान गरी आगामी सातादेखि परिचालन गरिने तयारी छ।

नेपाल प्रहरीले हेडक्वार्टर, प्रदेश तथा जिल्ला तहमा तहगत रूपमा निर्वाचन सेल गठन गरेको छ। गृह मन्त्रालय, प्रदेश तथा जिल्ला तहका सुरक्षा समितिमार्फत आवश्यक समन्वय र सहभागितामा सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको जनाएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले पनि आ–आफ्ना तहगत संयन्त्रमार्फत सुरक्षा व्यवस्थापन मिलाएका छन्। सेना र सशस्त्र प्रहरीले ७७ वटै जिल्ला सदरमुकाममा रहेका स्थायी संयन्त्रका साथै सबै निर्वाचन क्षेत्रलाई एक–एक निर्वाचन बेस ९अस्थायी बेसक्याम्प० बनाएर मातहतका क्षेत्रमा सुरक्षा योजना लागू गरेका छन्।

७ सय ५३ स्थानीय तहको जोखिम र आवश्यकताअनुसार चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन प्रयोग गरी पट्रोलिङ, बेस केन्द्रित स्थल गस्ती तथा लामो, मध्यम र छोटो दूरीका गस्तीमार्फत निर्वाचन सुरक्षा मजबुत बनाइने तयारी गरिएको छ।

यसैबीच गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख सहसचिव कृष्णकुमार कार्कीलाई सुदूरपश्चिम प्रदेशको समग्र सुरक्षा हेर्ने जिम्मेवारी तोकिएको छ। सहसचिव कार्कीले ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना’ कार्यान्वयन, जोखिम मूल्याङ्कन र जिल्लागत अवस्थाको विश्लेषण गर्दै नियमित रूपमा केन्द्रमा प्रतिवेदन पेस गर्नेछन्।

सहसचिव कार्कीले केन्द्रबाटै तथा आवश्यक पर्दा सुदूरपश्चिममा उपस्थित भई निर्वाचन सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ।

कमेन्ट लोड गर्नुस