कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षकि बालिकाको मृत्यु
कञ्चनपुर: कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ। जिल्लाको लालझाँडी गाउँपालिका–६, ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीया रोजिना साउदको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति करिब २ः३० बजे जङ्गली हात्ती स्थानीय किसन सिंह साउदको घरमा प्रवेश गरी आक्रमण गरेको थियो। घरबाट ज्यान जोगाउन भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद र ६ वर्षीया छोरी रोजिनामाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीका अनुसार, गम्भीर घाइते दुवै जनालाई उपचारका लागि टीएनडी अस्पताल झलारी लगिएको थियो। अवस्था थप गम्भीर भएपछि राति नै धनगढी रेफर गरिएकोमा ६ वर्षीया रोजिनाको नवजीवन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
प्रहरीका अनुसार पार्वती साउदको अवस्था मध्यम रहेको छ। निकुञ्ज क्षेत्रबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन्।