सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका साजन लामाको ‘दि भ्वाइस अफ नेपाल’ मा ईन्ट्री

२०७६ साउन ३२, ०१:३० नवराज पनेरु

सानै उमेरमा धनगढी उप–महानगरपालिका वडा नम्वर १२ जुगेडा ए गाउँका साजन लामालाई संगीतको नशा लागिसकेको थियो। घर नजिकै रहेको साईवावाको मन्दिर, एक दिन अपाङगता भएकी किशोरीले भजन गाउँदै थिईन्। अपङगता भएकी युवतीले गीत गाउँदा उनलाई पनि छोयो र उनले गीत गाउने पहिलो मौका पनि सोही मन्दिरमा पाए।

उनले भने– ‘पहिलो पटक भजन गाउँदा मन्दिर व्यवस्थापन समितिका सस्थापक तिलक निरौलाबाट बक्सीस पाए, त्यसले मलाइ थप हौसाला मिल्यो।’ लामाको गायनीको धेरैले तारिफ पनि गरे। दिन वित्दै जाँदा सोही मन्दीरमा गीत गाउने क्रम पनि बढ्दै गएको थियो उनको। सोही क्रममा धनगढीमै भएको एक्ल्याप स्टार संगीत प्रतियोगितामा पनि उनले सहभागिता जनाए तर उत्कृष्ट १४ मै यात्रा टुङगियो।

लामामा संगीतको मोह बढ्दै गएको थियो, कहिले विभिन्न सांगीतीक कार्यक्रममा प्रस्तुती दिन्थे त कहिले विभिन्न होटलमा गीत गाउँथे। तर उनलाई घरको पारिवारीक अवस्थाले भने पिरोल्न थालेको थियो। बुवा विरामी, आमा बैदेशिक रोजगारीका क्रममा विदेशमा, आर्थिक अवस्था सुधार हुन नसकेपछि उनले पनि गायक बन्ने रहरका बाबजुत बैदेशिक रोजगारी रोज्ने निधो गरे।

आजभन्दा ढाई बर्ष अगाडी उनी रोजगारीकै लागि कतार हानिए, त्यहाँ जिम क्लवमा सेक्युरेटीको काम पाए। ड्युटीको समयमा गीत गुनगुनान र मोवाईलमा गीत हेर्न पनि उनलाई अनुमती थिएन्। लामा भन्छन्–‘तरपनि लुकीछिपी धेरै पटक गीत गाईयो, तलव काटिएपनि गुनगुनाउने बानी भने कतारमा पनि छुटाउन सकिएन।’

दुई बर्षपछि कतारबाट फर्किदा धनगढीमा धेरै कार्यक्रममा संगै गीत गाएका, विभिन्न होटलमा एउटै कार्यक्रममा सहभागी भएका रवि ओडको सफलताले उनमा पनि जागर बढ्यो। ओड सोही समयमा नेपाल आयडल सिजन–२ का विजेता बनेका थिए। उनले पनि ‘दि भ्वाइस अफ नेपाल’ मा सहभागिता जनाउने निर्णय लिए।

‘दि भ्वाइस अफ नेपाल’ मा डिजिटल अडिशन दिए र उनी छनौट पनि भए। ब्लाइन्ड अडिसनमा पनि  ‘दि भ्वाइस अफ नेपाल’ का दुई जना कोचलाई उनी प्रभावित गर्न सफल भए। उनको आवाजले प्रभावित भएका कोच प्रमोद खरेल र कोच आस्था रावतको कुर्ची घुमेसंगै उनी भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी बनेका छन्।

‘डिजिटल अडिशनमा छनौट भएपछि सबै प्रतिस्पर्धीको एउटै लक्ष्य हुन्छ भ्वाइसको विजेता बन्ने, मेरो पनि सोही लक्ष्य छ,’ उनले भने, ‘तर सवै विजेता हुन सक्दैनन्, सुदूरपश्चिमेलीसंगै सबै नेपालीको साथ पाए अवश्य राम्रो गर्ने छु।’ लामाले अगाडी थपे– ‘आमा अहिले पनि रोजगारीका लागि युएईको दुवईमा हुनुहुन्छ, सवै परिवार उहाँकै भरमा चलिरहेको छ, भ्वाइसको उपाधि जितेर आमाबुवासंगै सिङगो सुदूरपश्चिमवासीको शिर उचो पार्ने लक्ष्य छ।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस