सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका जिल्ला अस्पतालहरु पनि चिकित्सक विहिन हुने

२०७६ साउन ३१, ०६:५६ रोशन भट्ट

समायोजनको प्रभावले सेती र महाकालीसंगै सुदूरपश्चिममा रहेका जिल्ला र जिल्ला स्तरीय अस्पतालहरु पनि चिकित्सक विहिन हुने भएका छन्। चिकित्सकहरुको संघीय सरकार मातहतका अस्पतालमा समायोजन भएर पदस्थापना हुन थालेसंगै पहाडी ६ जिल्लामा रहेका जिल्ला अस्पताल र अन्य जिल्ला स्तरीय अस्पतालहरु चिकित्सक विहिन हुने भएका हुन्।

अहिले प्रदेशका अधिकासं असपताल तथा स्वास्थ्य केन्द्रहरुमा दरवन्दी अनुसारका कर्मचारी नभएका वेला भएकै चिकित्सक समेत जानथापछि स्वास्थ्य सेवा नै बन्द हुने चिन्ता बढेको छ। जिल्ला अस्पताल बझाङका प्रमुख सन्दिप ओखेडाले समायोजन कार्यान्वयन भएपछि स्वास्थ्य सेवा प्रवाह गर्न नै मुस्किल हुने बताए।

यस्तै बैतडी जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदीशचन्द्र बिष्टको संघीय सरकारमा समायोजन भएपछि जिल्ला अस्पताल चिकित्सक विहिन हुने अवस्थामा छ। करार सेवामा कार्यरत मेडिकल अधिकृतको पनि समयावधि सकिन लागेको छ भने एकवर्ष यता जिल्ला अस्पतालमा दरबन्दीका स्टाफ नर्स पनि छैनन्। कर्मचारीको पदपूर्ती नहुँदा करारमा राखेर काम सञ्चालन गर्नु पर्ने अवस्था सृजना भएको छ।

यस्तै जिल्ला अस्पताल अछाममा पनि लामो समय देखि दरवन्दीका कर्मचारीहरु छैन्। २६ जनाको दरवन्दी रहेको उक्त अस्पतालमा १३ जना मात्रै कार्यरत छन्। आठौं र नौं तहको दरवन्दी रिक्त रहेपछि करारकै कर्मचारीले प्रमुखको जिम्मेवारी सम्हालेका छन्। भएकै अन्य स्वास्थ्यकर्मीहरु पनि अन्यत्र जान थालेपछि सामान्य उपचार सेवा लिन समस्या हुने देखिएको जिल्ला असपताल अछामका प्रमुख मनोज विष्टले बताए।

कर्मचारी समायोजनको प्रभावले पहाडी जिल्लाका अस्पताहरुबाट प्रदान गरिने सामान्य उपचार सेवाहरु पनि प्रभावित हुने उनले बताए। पाँच जनाको दरवन्दी रहेको बाजुरा जिल्ला अस्पतालमा पनि समस्या हुने देखिएको छ। अस्पतालमा कार्यरत दुई जना चिकित्सकको समायोजन भएपछि विभिन्न सेवा नै बन्द हुने भएको छ। अस्पतालमै तीन जना कर्मचारी करारमा रहेका छन्।

उनीहरुको पनि समय अवधि सकिने भएकाले सेवा नै ठप्प हुने सम्भावन देखिएको जिल्ला अस्पताल बजुराका प्रमुख रुपचन्द्र विश्वकर्माले बताए। यस्तै जिल्ला अस्पताल डोटी र दार्चुलामा पनि पदपुर्ती नभएका वेला भएकै कर्मचारी जाने भएपछि पहाडी जिल्लाका वासिन्दाहरु स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने सम्भावना बढेको छ।

अहिले सम्म विशेषज्ञ डाक्टरको मात्रै पदस्थापन भएकोमा जिल्ला अस्पतालहरुमा अधिकासं आठौँ तहका मेडिकल अधिकृत कार्यरत रहेकाले उनीहरुको पनि पदस्थापन भएपछि अस्पताल रित्तिने लगभग पक्का छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस