सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु, २२४ मतदाता सहभागी हुने
धनगढीः सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बिहानदेखि मतदान प्रक्रिया अघि बढेको हो ।
मतदानको सुरुआत एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेर गरेका छन् । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका १७३ जना र प्रदेश सभाका ५१ जना सांसद गरी कुल २२४ जना मतदाता रहेका छन् ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान भइरहेको छ । मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा भने निर्विरोध निर्वाचन भएको छ । बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको छ । कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ ।