दृष्टिबिहिन रावलको कठोर संघर्ष र लोभलाग्दो उपलव्धी ! शिक्षक सेवामा सफलता !!

नवराज पनेरु
२०७६ साउन २७, ०२:०२
अ+

२०५२ सालमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ का अर्जुन रावलको जन्म हुँदा धेरैले कुरा काटे। दृष्टि गुमाएको छोराले जन्म लिएपछि रावलका बुवा आमाले पनि समाजको धेरै कुरा सुन्न प¥यो। रावल परिवारका लागि बोझ बन्ने हुन्, भन्ने अनुमान पनि लगाउन थालियो। तर उनका बुवामा दृष्टि गुमाएको छोरा जन्मिएपनि अध्ययनका लागि स्कुल पढाउने हुटहुटी चल्यो।

सोही क्रममा उनलाई धनगढीको पञ्चोदय माविमा कक्षा १ मा भर्ना गरियो। उनी दृष्टिबिहिनहरुकै लागि विद्यालयमा खोलिएको जिवनज्योती छात्रवासमा बस्दै पढ्न थाले। सो समयमा ब्रेनलिपीको साहाराले उनी पढ्थे। २०६९ सालमा एसएलसी उत्तिर्ण गरेपछि उनले धनगढीकै ऐश्वर्य विद्या निकेतनमा भर्ना भए। शिक्षा संकायमा अङग्रेजी विषय लिएर। दृष्टिबिहिन रावलले ११ र १२ कक्षामा संकाय टप गर्दै धेरैलाई चकित बनाए। उनी भन्छन्– ‘सो समयमा मेरो सबै ध्यान पढाईमा थियो, जिवनमा केही बन्ने लक्ष्य थियो, जस्ले गर्दा म संकाय टपर हुन सफल भए।’

स्नातको पढाईका लागि उनी कैलाली वहुमुखी क्याम्पसमा भर्ना भए, मानविकी संकायमा राजनीति शास्त्र र अङग्रेजी विषय लिएर। स्नातक उत्तिर्ण त गरे तर पहिले जस्तै टपर हुन सकेनन्। ‘स्नताक अध्ययनका क्रममा म धेरै सस्थामा सक्रिय भईसकेको थिए,’ उनले भने, ‘सामाजिक कार्यमा पनि समय विताउन थालेपछि अध्ययनमा पहिलेको जस्तै समय पनि दिन सकिन।’

स्नातक उत्तिर्ण गरिसकेपछि उनले २०७३ सालमा पहिलो पटक शिक्षक सेवा आयोगले लिएको निमावि (अङग्रेजी) मा परिक्षा दिए। लिखितमा पहिलो पटक नै नाम निस्कियो तर उनी अन्तरवार्तामा असफल भए। दोश्रो पटक २०७५ सालको असोजमा फेरी शिक्षा सेवा आयोगले निमाविमा अङग्रजी विषयको परिक्षा लियो, उनले पनि परिक्षा दिए। फेरी उनले लिखितमा नाम निकाले, २०७६ साल साउनको तेश्रो साता अन्तरवार्ताको पनि नतिजा आएपछि उनलाई अव सरकारी जागिरे बनाईदिएको छ, शिक्षक सेवामा उत्तिर्ण भएर।

अहिले त्रिभुवन विश्व विद्यालयमा अन्तराष्ट्रिय सम्वन्ध र कुटनीतिमा स्नातकोत्तर गर्दै आएका उनले अव स्थायी शिक्षकको नियुक्ती लिन मात्रै बाँकी छ। यो सफलताले उनको परिवार मात्रै होईन धेरै अपाङगता भएका व्यक्तिहरुमा पनि खुसियाली छाएको छ। दृष्टिबिहिनले जिवनमा केही पनि गर्न सक्दैनन भन्ने मानसिकता गलत सावित भएको छ। 

सामाजिक कार्यक्रमा पनि सक्रिय
२०६२-०६३ को जनआन्दोलनको समयमा रावल उमेरले ११ बर्षमा मात्रै पुगेका थिए। ११ बर्षको बालक त्यसैमाथि दृष्टिबिहिन। लम्कीमा आन्दोलन चर्किदै गर्दा गणतन्त्र स्थापनाका लागि सोही आन्दोलदनमा होमिएका थिए रावल पनि, एकतिर दृष्टिबिहिन, अर्को तर्फ ११ बर्षको सानै उमेरमा आन्दोलनमा होमिएका देख्दा धेरैलाई अचम्मित तुल्याएको थियो भने कतिपयले रावलले जिवनमा केही नयाँ गर्न सक्छन भन्ने आकलन गर्दै थिए। 

तीन बर्ष अगाडी मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय भईसक्दा समेत घरजग्गा धनीले सडकमा रहेका संरचना भत्काउनका लागि अटेरी गर्दै आएका थिए। सोही समयमा रावलकै नेतृत्वमा धनगढी युवा दवाव समूह गठन भयो र संरच्ना भत्काउनका लागि आन्दोलनका कार्यक्रम अगाडी बढाईयो। त्यसैको आडमा अहिले संरचना भत्काउँदै सडक निर्माणको कार्य अगाडी बढिरहेको छ। 

उनी नेत्रहिन युवा संंघ सुदूरपश्चिमका महासचिव र कैलाली जिल्ला अध्यक्ष भएर पनि धेरै दृष्टिबिहिनको वकालत गर्दै आएका छन्। उनको चाँसो राजनीतिमा पनि छ। ‘तर शिक्षक सेवा र राजनीति संगै लैजाने योजना भने छैन्,’ उनले भने, ‘म जहाँ जान्छु सोही विद्यालयलाई नमूना बनाउँछु।’
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।