सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपाङ्गता क्षेत्रमा योगदानका लागि नन्दराज भट्ट नेपाल जेसिज उत्कृष्ट युवा पुरस्कार २०२५ बाट सम्मानित

२०८२ पुष ५, ०५:२० खबर संवाददाता

धनगढी: मधेस प्रदेशको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनका अवसरमा अपाङ्गता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नन्दराज भट्टलाई नेपाल जेसिज उत्कृष्ट युवा पुरस्कार २०२५ अन्तर्गत स्वर्ण पदकसहित सम्मान गरिएको छ।

जन्मजात अपाङ्ग रहेका भट्टले अपाङ्गतालाई कमजोरी नभई समाज परिवर्तनको शक्ति बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सशक्तीकरणका क्षेत्रमा निरन्तर योगदान गर्दै आएका छन्। उनका संघर्ष, सेवा र सामाजिक प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै नेपाल जेसिजले राष्ट्रियस्तरको यो सम्मान प्रदान गरेको हो।

जनकपुरधाममा आयोजित महाधिवेशनमा देशभरका जेसिज प्रतिनिधिहरूको उपस्थितिमा भट्टलाई सम्मान गरिएको थियो। वक्ताहरूले भट्टको जीवन संघर्ष, आत्मविश्वास र निरन्तरताले युवापुस्तालाई प्रेरणा दिएको उल्लेख गरे।

महाधिवेशनअन्तर्गत विभिन्न विधामा १० जना उत्कृष्ट युवाहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा सामाजिक न्याय र सशक्तीकरणका क्षेत्रमा योगदान पु¥याउने अन्य व्यक्तित्वहरू पनि सम्मानित भए।

नेपाल जेसिजले युवाहरूलाई नेतृत्व, सेवा र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्यले यस्ता राष्ट्रिय कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ। सम्मान प्राप्त गरेपछि भट्टले आफूलाई सिफारिस गर्ने जेसिज फुलबारी शाखाप्रति धन्यवाद व्यक्त गरेका छन्।
 

कमेन्ट लोड गर्नुस