पाटन नगरपालिकाले वडामै पुगेर योजना सम्झौता गर्दै
बैतडी: बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाहरूको सम्झौता सम्बन्धित वडामै पुगेर गर्न थालेको छ। योजनाको सम्झौताका लागि नगरपालिका कार्यालय धाउनुपर्ने झन्झट हटाउन यो अभ्यास सुरु गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालका अनुसार चालु आर्थिक वर्षका सबै योजनाहरू वडामै पुगेर सम्झौता गरिँदैछ। नगर प्रमुख गौरीसिंह रावलसहितको टोलीले वडास्तरमै योजना सम्झौता प्रक्रिया अघि बढाइरहेको छ।
वडामा पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्ने र समितिका पदाधिकारीलाई योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गरिने योजना शाखा प्रमुख बिरसिंह महताले जानकारी दिए। यस क्रममा शुक्रबार पाटन नगरपालिका वडा नं. ८ र १० का योजनाहरूको सम्झौता गरिएको छ। वडा नं. ८ मा १६ र वडा नं. १० मा १९ वटा योजनाका लागि सम्बन्धित उपभोक्ता समितिसँग सम्झौता गरिएको उनले बताए।
योजनाको सम्झौतासँगै दुवै वडाका उपभोक्ता समितिका पदाधिकारीलाई कार्यान्वयनसम्बन्धी प्रशिक्षणसमेत दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए। वडामै सम्झौता गर्दा उपभोक्ता समितिलाई सहज भएको उनको भनाइ छ।
पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्टले वडामै योजना सम्झौता गर्दा वित्तीय अनुशासन कायम हुने बताए। साथै, योजनाहरू गुणस्तरीय रूपमा सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिइएको उनले उल्लेख गरे।
नगरपालिकाले बाँकी वडाहरूमा पनि यही अभ्यासलाई निरन्तरता दिने जनाएको छ।