सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैक्षिक गुणस्तर सुधारका लागि सिगास माविले टोल–टोलमा पुगेर गर्‍यो अभिभावकसँग अन्तरक्रिया

२०८२ पुष ५, ०५:१० खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिका–३ गुरुडास्थित सिगास माध्यमिक विद्यालय (गौरीशंकर पोखरी) ले शैक्षिक गुणस्तर सुधारका उद्देश्यले अभिभावकहरूसँग टोल–टोलमा पुगेर अन्तरक्रिया गरेको छ।

विद्यालय सेवा क्षेत्रभित्रका १२ वटा टोलमा पुगेर शुक्रबार अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए। विद्यालयको शैक्षिक वार्षिक कार्ययोजना २०८२ अनुसार बिदाको दिनमा समेत शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू टोलमै पुगेका थिए।

विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ गर्ने, विद्यालय शिक्षाप्रति अभिभावकलाई सक्रिय बनाउने, बालबालिकाका खराब आनीबानी सुधार गर्ने र विद्यालयप्रति अपनत्व बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष भाटले बताए।

विद्यालयका प्रधानाध्यापक मानबहादुर चन्दका अनुसार यस प्रकारको अन्तरक्रियाले सामुदायिक विद्यालयप्रति समुदायको सकारात्मक दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। टोलमै पुगेर गरिएको छलफलबाट शैक्षिक गुणस्तर सुधारका उपायबारे पनि उपयोगी सुझाव प्राप्त भएको उनले बताए।

पाटन नगरपालिकाको शिक्षा शाखामा कार्यरत बृखराज भट्टले टोल–टोलमा विद्यालयको टोली पुगेर गरिने अन्तरक्रियाले शिक्षा क्षेत्र सुधारमा महत्वपूर्ण सहयोग पुग्ने बताए। अन्तरक्रिया र भेटघाटले विद्यालय र समुदायबीचको सम्बन्ध बलियो बनाउने, विद्यालयका समस्या पहिचान गर्न मद्दत गर्ने तथा अभिभावकलाई आफ्ना बालबालिकाबारे थप जानकारी प्राप्त हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
 

कमेन्ट लोड गर्नुस