सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन कार्यालयमा प्रदेश सरकारको मनोमानीः सिनियरलाई पाखा लगाई जुनियरलाई हाकिम! 

२०८२ पुष १, ०४:०४ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले मातहतका कार्यालयहरूमा सिनियर कर्मचारीहरूलाई पन्छाएर जुनियरलाई कार्यालय प्रमुखको जिम्मेवारी दिने गरेको छ।

प्रदेश सरकारले विगतदेखि नै सिनियरलाई पन्छाएर/ जिम्मेवारी बिहिन बनाएर कनिष्ठ अधिकारीहरूलाई कार्यालय प्रमुख बनाउँदै आएको छ।

मंसिर २४ गते पहलमानपुर डिभिजन वन कार्यालयका दशौं तहका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेललाई वन निर्देशनालयमा तानेर आठौं तहका वन अधिकृत सुरेन्द्र कठायतलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजनल वन अधिकृत कँडेललाई वन निर्देशनालय तानेसँगै कठायतलाई मंसिर २५ गते निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। वन निर्देशक हेमराज विष्टले दैनिक कामकाज सञ्चालन गर्न छोटो समयका लागि कठायतलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताए।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन ३० गते पहलमानपुर डिभिजन वन कार्यालय र धनगढी डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेल र कृष्णदत्त भट्टलाई ९ महिनामै सरूवा गरेको थियो। प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ विपरीत सरूवा गरिएको भन्दै दुबैजना अधिकारी सरकारले गरेको सरुवा निर्णय विरुद्ध उच्च अदालत पुगेका थिए।

सरकारको निर्णयलाई चुनौति दिँदै भट्ट र कँडेल उच्च अदालत पुगेपछि उनीहरू सुकारको बक्रदृष्टिमा परेको बताइन्छ। उच्च अदालतबाट भदौ ५ गते अन्तरिम आदेश लिएर साविक कार्यालयमै कामकाज गरिरहेका उनीहरूलाई उच्चले अन्तरिम आदेश खारेज गरेसँगै जिम्मेवारी खोसेर वन निर्देशनालयमा पठाइएको हो।

धनगढी डिभिजन वन कार्यालयबाट कृष्णदत्त भट्टलाई तानेर उनको ठाउँमा महेन्द्रनगरबाट सरूवा भएर आएका डिभिजनल वन अधिकृत रामविचारी ठाकुर कार्यालय प्रमुख बनाइएको छ। पहलमानपुरबाट तानिएका रामचन्द्र कँडेलको स्थानमा भने आठौं तहका वन अधिकृत कठायतलाई निमित्तको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले नै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालिरहेका छन्। मुख्यमन्त्री शाहकै निर्देशनमा प्रदेश सचिव दीर्घनारायण कोइरालाले भट्ट र कँडेललाई निर्देशनालयमा तानेर जिम्मेवारी बिहिन बनाइएको कर्मचारी वृतमा चर्चा चलेको छ।
तेस्रो नम्बरका कठायतलाई निमित्तको जिम्मेवारी!
डिभिजन वन कार्यालय पहलमानपुर र मातहतका सवडिभिजन वन कार्यालयमा रहेका कर्मचारीमध्ये तेस्रो नम्बरका वन अधिकृतलाई निमित्त प्रमुख बनाइएको हो। पहलमानपुर डिभिजन वन कार्यालय मातहतको टीकापुर सवडिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत दिलिप यादव र लम्की सवडिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत शेरबहादुर भण्डारी सनियर भए पनि वन अधिकृत सुरेन्द्र कठायतलाई निमित्त प्रमुख बनाइनु प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १९ को उपदफा (४) प्रावधान विपरीत भएको देखिन्छ।

ऐनको उक्त उपदफामा 'कुनै कार्यालयको प्रमुख कुनै कारणले कार्यालयमा अनुपस्थित भएमा कार्यालयको कर्मचारीमध्ये निकटतम वरिष्ठ कर्मचारीले निजको निमित्त भई दैनिक कार्य सञ्चालन गर्नुपर्नेछ' भन्ने उल्लेख छ। पहलमानपुर डिभिजन अन्तरगत वन अधिकृत यादव, भण्डारी र कठायत तीनै जना आठौं तहका कर्मचारी भए पनि वरियतामा सबैभन्दा सनिनियर यादव दोस्रोमा भण्डारी र तेस्रो  कठायत छन्। तर मन्त्रालयले भने दशौं तहको अधिकृतलाई वन निर्देशनालय तानेर तेस्रो वरियतामा रहेका अधिकृतलाई निमित्त बनाएको हो।

यो विषयमा वन निर्देशक हेमराज विष्टले पहलमानपुर डिभिजन वन कार्यालयमै कार्यरत भएकाले कठायतलाई केही समयका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताए। कठायतको शैक्षिक योग्यता बढी भएकाले तथा सोही कार्यालयमा कार्यरत भएको हुँदा जिम्मेवारी दिइएको निर्देशक विष्टले बताए।

'कठायत पहलमानपुर डिभिजन वन कार्यालयमै कार्यरत कर्मचारी हुन्। अन्य दुई जनामा एक लम्की र अर्का टीकापुरमा कार्यरत छन्। उहाँहरूलाई निमित्त प्रमुखको जिम्मेवारी दिँदा कार्यरत कार्यालयको कामकाज प्रभावित हुने भएकाले पहलमानपुरमै कार्यरत कर्मचारीलाई जिम्मेवारी दिइएको हो,' उनले भने, 'तीनै जना आठौं तहका कर्मचारी हुन्,शैक्षिक योग्यतामा कठायत अगाडि छन् भनेर पनि जिम्मेवारी तोकिएको हो।'

यो पनि पढ्नुहोस्ः 

कैलालीमा वन पैदावार विक्रीवितरण खुल्यो, 'डिएफओ'को रिसले लागेको थियो प्रतिबन्ध

डिभिजनल वन अधिकृत भट्ट र कँडेललाई निर्देशनालयमा हाजिर हुन निर्देशन

प्रदेश सरकारले कैलालीमा मात्रै काठ बिक्रीवितरणमा किन प्रतिबन्ध लगायो?

प्रदेश सरकारका कारण कैलालीको चुरेका सामुदायिक वनमा करोडौँको सल्लाको काठ कुहिदै

कञ्चनपुरको कृष्णपुरस्थित एक सामुदायिक वनमा एकैदिन १६४ रुख काटिए

 प्रदेश सरकारको निर्णयमा प्रश्न उठाउन मिल्छ होला नि! 

मन्त्रालयमा दिनहुँ १५ मिनेटको ध्यान, त्यसपछि कार्यालयको काम 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस