कञ्चनपुरको कृष्णपुरस्थित एक सामुदायिक वनमा एकैदिन १६४ रुख काटिए
धनगढी: कञ्चनपुरमा अवैध रूपमा रुखहरु कटान गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा रुख काटिएको हो।
मंसिर ११ गते सामुदायिक वन वरपर बस्ने स्थानीयले खयर तथा सिसमको रुख काटेको बताइएको छ। तर रुख काट्नेहरुको पहिचान भने नखुलेको सामुदायिक वनकी अध्यक्ष कुमारी बोहराले बताइन्।
कृष्णपुर-७ को वडा कार्यालयसँगै रहेको सामुदायिक वन २०५५ सालदेखि संरक्षण गर्न थालिएको हो। २०५५ सालमा सुकुम्वासी आएर खाली जग्गमा बसेपछि स्थानीयले सुकुम्वासीलाई हटाएर बिरुवा रोपेर सामादायिक वन बनाइए वडा अध्यक्ष घुम्मन रानाले बताए।
करिब २० बिघा क्षेत्रफलमा फैलिएको बस्तीको बिचमा रहेको वन क्षेत्रबाट स्थानीयले सुकेका रुख काटेर लैजाने गरेको तथा वन क्षेत्र संरक्षण गर्न समस्या भएको वनकी अध्यक्ष बोहराले बताइन्। उनले आफू धनगढी अस्पताल गएको समयमा वन क्षेत्रमा पसेर रुख काटिएको उनले बताइन्।
यस्तै, वडा अध्यक्ष घुम्मन रानाले मंसिर ११ गते वडा कार्यालयमा आफू नरहेको समयमा रुख काटिएको वडा अध्यक्ष रानाले बताए। आफूले रुख काटिएको खबर प्रहरीबाट थाहा पाएको रानाले बताएका छन्। 'म त्यो दिन वडामा थिएन, मैलै रुख कटान भएको सूचना प्रहरीबाट थाहा पाएको हुँ,' उनले भने, 'मैले वन क्षेत्रमा पुग्दा रुखहरू काटिएका थिए। कसले काट्यो भन्ने थाहा भएको छैन। वनले अनुसनधान गर्दैछ। यसमा संलग्न उपर अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ।'
सामुदयिक वन क्षेत्रबाट रुख काटिएको घटनाबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। अवैध रुपमा रुख काटिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरले अनुसन्धान अगाडि बढाइएको जनाएको हो।
यस्तै, गौरीघाट सामुदायिक वनमा पहिलो चरणको अनुसन्धान प्रक्रिया अगाडि बढेको डिभिजन वन कार्यालय कञ्वाचनपुरले जनाएको छ। वन अधिकृत भरत शाहको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ।
सव-डिभिजन वन कार्यालय पिपरैयाले बुझाएको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्दै जाँदा उक्त सामुदायिक वन क्षेत्रबाट खयर र सिसमका १६४ रुखहरू काटिएको तथ्य फेला परेको वन अधिकारीले बताएका छन्।