गोदावरीको गौशाला अस्तव्यस्त, गाईवस्तुको हेरचाहमै लापरबाही
धनगढीः कैलालीको गोदावरी नगरपालिका–७, गोलादेवस्थित सामुदायिक वन क्षेत्रमा रहेको गौशालाको व्यवस्थापन कमजोर बनेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। प्रदेश सरकारको लगानीमा निर्माण भएको र गोदावरी नगरपालिकाको संरक्षणमा रहेको गौशालामा गाईवस्तुको उचित हेरचाह, आहारको व्यवस्था र नियमित निगरानी हुन नसकेको उनीहरूको आरोप छ।
गौशालाको व्यवस्थापनमा प्रभावकारी योजना र निगरानीको अभाव हुँदा गाईवस्तुले पर्याप्त आहारसमेत पाउन नसकेको स्थानीयको गुनासो छ। गोदावरीका युवा बिराज विष्टले गौशालाका व्यवस्थापक यतीराज कँडेलले जिम्मेवारीअनुसार काम नगरेको आरोप लगाए। व्यवस्थापकसहित हेरचाहका लागि कर्मचारी खटाइए पनि गौशालाको अवस्था दयनीय रहेको उनको भनाइ छ।
गौशालामा कार्यरत कर्मचारी भीमबहादुर बमले व्यवस्थापक तीन महिनासम्म गौशालामा उपस्थित नभएको दाबी गरे। व्यवस्थापकले अन्य कर्मचारीसँग आवश्यक समन्वय नगर्ने र कामका विषयमा निर्देशनसमेत नदिने गरेको उनले बताए। अर्का कर्मचारी चक्र नागरिका अनुसार पनि व्यवस्थापकको भूमिका प्रभावकारी देखिएको छैन। नियमित निगरानी र व्यवस्थापनको अभावमा गौशालाको अवस्था बिग्रिँदै गएको कर्मचारीहरूको गुनासो छ।
गौशालामा गाईवस्तुले पर्याप्त आहार नपाएको स्थानीयको आरोप छ। स्थानीय टिका बमका अनुसार गाईवस्तुले पराल, भुसा र अन्य आवश्यक आहार पाउन सकेका छैनन्। पर्याप्त चारोको अभावमा गाईवस्तु नुनपानीकै भरमा बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। गाईवस्तु मर्ने क्रमसमेत नरोकिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। मरेका गाईको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिनुका साथै सम्भावित रोगको जोखिम बढ्न सक्ने उनीहरूको भनाइ छ।
यता, गौशालाका व्यवस्थापक यतीराज कँडेलले भने गौशाला दर्ता नभएका कारण व्यवस्थापनमा चुनौती रहेको बताएका छन्। आफू तीन महिनासम्म गौशालामा अनुपस्थित रहेको आरोप झुटो भएको दाबी गर्दै उनले गौशालाको अवस्था र गतिविधिबारे नगरपालिकालाई समय–समयमा जानकारी गराउँदै आएको बताए।
हाल गौशालामा चार जना कर्मचारी कार्यरत छन्। उनीहरूको तलब गोदावरी नगरपालिकाले उपलब्ध गराउँदै आएको छ। कर्मचारीको तलब नियमित भुक्तानी भइरहे पनि गौशालाको व्यवस्थापन र गाईवस्तुको उचित हेरचाह हुन नसकेको भन्दै स्थानीयले नगरपालिकाको भूमिकामाथि प्रश्न उठाएका छन्।