सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिम्बाब्वेमा ५० लाख मानिस भोकमरीको चपेटामा

२०७६ साउन २३, १२:१७ खबर संवाददाता

जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको छ। झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। जिम्बाब्वे सुक्खा, चक्रवात र आर्थिक संकटको सामना गरिरहेको छ। विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) ले ३३ दशमलव १ करोड डलर मद्दतको अपिल गरेको छ। डब्ल्यूएफपीका प्रमुख डेभिड बीज्लेले भनेका छन, ’अधिकांश मानिसहरु संकटमा छन् र भोकमरीतर्फ बढिरहेका छन्।’ कुनै समय खाद्यान्नको सम्पन्न जिम्बाब्वे पछिल्लो केही वर्षदेखि खाद्यान्नको समस्याबाट ग्रसित छ। 

सुक्खाका कारण अन्नपात नराम्रोसँग प्रभावित भएका छन् भने खाद्यान्नको मूल्यमा पनि निकै बढोत्तरी भएको छ। पानीको स्तर तल जाँदा जिम्बाब्वेको कारिबा इलाकामा रहेको मुख्य ’पनबिजली प्लान्ट’मा पनि असर पुगेको छ। जसका कारण पूरै देशको बिजुली आपूर्ति प्रभावित भएको छ। गएको मंगलबार अपिल जारी गर्दै डब्ल्यूएफपीका प्रमुख बीज्लेले झण्डै २५ लाख जनसंख्या भोकमरीको चपेटामा परिसकेको बताए। 

प्रमुख बीज्लेले भने, ‘हामीहरु भोकमरीको चपेटामा परेका मानिसहरुको बारेमा कुरा गरिरहेका छौँ। यदि हामीले उनीहरुको लागि मद्दत जुटाउन सकेनौँ भने उनीहरुको अवस्था झन् नाजुक हुन्छ।’ उनका अनुसार जिम्बाब्वे अभूतपूर्व सुक्खाको सामना गरिरहेको छ। यो वर्षको सुरुवातमा इदाइ चक्रवातका कारण निकै असर पुगेको थियो।चक्रवातका कारण मालावी र मोजाम्बिक पनि प्रभावित भएको थियो र झण्डै ५ लाख ७० हजार नागरिक प्रभावित भएका थिए, जसमा दशौँ हजार मानिसहरु घरबारविहीन भएका थिए। पछिल्लो हप्ता अर्थमन्त्री म्थुली नक्यूबले सरकारले गएको जनवरीदेखि ग्रामीण र शहरका झण्डै ७ लाख ५७ हजार मानिसहरुलाई अन्न र अनाज प्रदान गरिरहेको बताए। 

नोभेम्बर २०१७ मा लामो समयसम्म शासन गर्दै आएका रोबर्ट मुगाबेले छोडेपछि राष्ट्रपति बनेका एमर्सन मांगाग्वाले गएको मंगलबार देशमा सुक्खापन देखिएपछि राष्ट्रिय आपतकालको घोषणा गरेका छन्।  यद्दपि संयुक्त राष्ट्रसंघको पहलमा २९ दशमलव ४ मिलियन डलरको कोषको अपिल जारी गरिएको छ। तर पनि जिम्बाब्वेले भने सुक्खाको असर बाँकी राज्यमा पनि फैलिएका कारण कोषको मात्रा बढाउनु पर्ने बताएको छ।  

कमेन्ट लोड गर्नुस