सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुस्तक पठन सङ्कल्पमाः विचार विज्ञान

२०८२ कार्तिक ११, ११:२९

तीर्थराज भट्टः विद्यालयमा शैक्षिक सत्र २०८२ को दसैँ विदा! विद्यार्थीहरूलाई विदाको गृहकार्य दियौँ । छुट्टीको उत्साहसँगै यसपटक एउटा नवीन सङ्कल्प पनि जोडिएको थियो – शिक्षकहरूका लागि अनिवार्य पठन गृहकार्य। हामी शिक्षकहरूले पनि विदाको गृहकार्य लिने सल्लाह ग¥यौँ – कम्तीमा एउटा पुस्तक पढ्ने

।मैले सम्झिएँ, धनगढीमा पढाउँदाका सहकर्मी दिक्षित सर, कुनै व्यक्तिले भनेको सन्दर्भ लिएर भन्नुहुन्थ्यो, 'अन्य पेसाकाले नपढ्दा अरूलाई खासै फरक पर्दैन तर शिक्षक र डाक्टरले निरन्तर पढेन भने अरूको भविष्य बर्बाद हुन्छ।' सोही कुरा सम्झिएँ। शिक्षक हुँ, कसैको भविष्य बर्बाद गर्नु छैन । थोरै भए पनि पढ्ने बानी त राख्नु नै पर्‍यो। घरमा बुवाले जम्मा गरेका किताब छँदै थिए। दुईओटा उपन्यास पढेँ। बुवाको प्रतिक्रिया आयो, “कति उपन्यासै पढन्छै, पड्डेइ भए केई धार्मिक किताब पड्पन। धार्मिक नपड्डे भए, यो विचार विज्ञान त पड्पन।'

एक दिन भेटमा दीपकराज जोशी दाइले पनि पढ्नै पर्ने किताब भनेर ‘विचार विज्ञान’को नाम लिनुभएको पनि सम्झेँ । खप्तड स्वामीद्वारा लिखित ‘विचार विज्ञान’ निकालेँ, यसो हेरेको सैद्धान्तिक वा धार्मिक पुस्तक जस्तो नै लाग्यो। थुप्रै सैद्धान्तिक पुस्तकहरू कोर्समै पढेकोले त्यो पढ्ने खासै रुचि थिएन। बुवाको आग्रहमा भाइ वेदको उत्साह देखियो, “पढूँ, पढूँ दाइ ! दुवै डाँडामा जाऊँ र उतै पढौँ।'

डाँडामा गएर दुवैले पालैपालो सस्वर वाचन गर्‍यौँ। सुरुकै पेजमा उल्लिखित विचारका बारेमा लेखिएका विचारहरू नै गजब लागे। मेरो मनगढन्ते तर्कले सुरुमै फेल खायो। यो त कुनै रुढ ग्रन्थ होइन रहेछ! यो त जीवनोपयोगी दर्शन तथाआध्यात्मिक र विज्ञानसम्मत चेतनाको व्याख्या पो रहेछ!

डाँडाको शान्त वातावरण। प्रकृतिको मौनतामा स्वामीका शब्दहरू गुञ्जिँदा, हरेक विचारले मनमा एउटा गहन तरङ्ग उत्पन्न गर्‍यो। अति नै मन परेको ठाउँमा रेखाङ्कित गर्‍यौँ। मन नपर्ने कुरा त कहीँ थिएनन्, नबुझेका चाहिँ हुने नै भए। पढ्दै जाँदा, जहाँ जहाँ हृदयले ‘हो, यो त पक्का हो’भन्ने स्वीकृति दियो, ती ठाउँहरूमा हामीले प्रेमपूर्वक रेखाङ्कित गर्‍यौँ। त्यही रेखाङ्कित गरेको कुरा पुनः पुनः पढेँ। स्टाफ मेटिङ्गमा गृहकार्य पनि बुझाउनु थियो त्यही भएर आफ्ना अनुभवहरू लेख्ने प्रयत्न गरेँ।

मलाई थाहा छ — खप्तड स्वामीको ‘विचार विज्ञान’ माथि विचार गर्ने मेरो योग्यता होइन, मैले त केवल सहज र सजिला ठाउँहरूमा मात्र विचरण गरेको छु। तर पनि कत्ति विचलित नभई भन्न सक्छु – त्यो विचरणले मेरो चेतनाको धरातललाई थोरै भए पनि पहिलेकोभन्दा फराकिलो बनाइदिएको छ।

खप्तड स्वामीको ‘विचार विज्ञान’ अध्ययन गर्दा लाग्यो, यो केवल एउटा किताब होइन, बरु जीवनलाई नयाँ कोणबाट नियाल्ने  दार्शनिक दूरबीन हो। मानव चेतनाको अन्वेषणमा रचिएको गहन महाकाव्य हो। यदि जीवन साहित्य हो भने ‘विचार विज्ञान’ त्यस साहित्यको मूल भाव, लेखन शैली वा परम दर्शन हो।

जीवन गणित हो भने ‘विचार विज्ञान’ जीवनको अर्थ बुझाउने अटल सूत्र हो। जीवन रहस्य हो भने ‘विचार विज्ञान’ त्यो रहस्यको गहिराइसम्म पुग्ने द्वारको उद्घाटन हो ।जीवन विज्ञान हो भने ‘विचार विज्ञान’ त्यो विज्ञानको चेतनायुक्त प्रयोग वा सारभूत प्रयोगशाला हो। जीवन संयोग हो भने ‘विचार विज्ञान’ ती संयोगहरूलाई अर्थ दिने चेतनाको संयोग हो। जीवन यात्रा हो भने ‘विचार विज्ञान’ सही दिशा देखाउने मार्गदर्शक हो।

जीवन सपना हो भने ‘विचार विज्ञान’ त्यस सपनालाई यथार्थमा बदल्ने सिर्जनशील शक्ति हो। जीवन सङ्गीत हो भने ‘विचार विज्ञान’ त्यो सङ्गीतको सुर, ताल वा लय हो। जीवन कर्म हो भने ‘विचार विज्ञान’ कर्मको नियति लेख्ने अदृश्य शक्ति वा बीज हो। अर्थात् जीवन आनन्दको खोजी हो भने ‘विचार विज्ञान’ आनन्दको मूल स्रोत चिनाउने ज्योति हो। जहाँबाट नियाल्दा पनि गहन अर्थ भेटिन्छ, ‘विचार विज्ञान’मा।

पठनको आरम्भमै महसुस भयो, हाम्रो विचार त केवल मस्तिष्कमा उत्पन्न हुने क्षणिक तरङ्ग मात्र होइन रहेछ, बरु ब्रह्माण्डसँग जोडिएको एउटा सूक्ष्म र शक्तिशाली तत्त्व पो रहेछ। स्वामीज्यूले तर्क र विज्ञानको मिठासतामा बुझाउनुभएको छ –जुन वस्तु जति सूक्ष्म हुन्छ त्यसको बल पनि उति नै बढी हुन्छ।

ढुङ्गाभन्दा माटो, माटोभन्दा पानी, पानीभन्दा बाफ, बाफभन्दा वायु, वायुभन्दा आकाश अर्थात् शब्दको गति, शब्दको गतिभन्दा प्रकाशको बल, प्रकाशको बलभन्दा बिजुलीको बल, बिजुलीको बलभन्दा पनि विचारको बल अति सूक्ष्म छ र बलवान पनि। यसरी विचारको शक्तिलाई सबैभन्दा बलवान मानिएको छ। स्वामीको यो दर्शनले चेतनाको सर्वोच्चतालाई स्थापित गर्छ। हाम्रा आँखाले नदेखिने हाम्रा विचारहरू नै हाम्रो जीवनको शिल्पी रहेछन्। यो बोधले पाठकलाई झक्झकाउँछ र आफ्नै मनभित्रको अदृश्य प्रयोगशाला नियाल्न उत्प्रेरित गर्छ।

पुस्तकको मूलभाव नै यही छ – विचार आत्मा, चेतना र ब्रह्माण्डबिचको संवाद हो। जब हामी नकारात्मक विचार लिएर बाँच्छौँ, तब त्यो ‘विकारयुक्त विचार’ रूपी अँध्यारोले हाम्रो आत्मालाई धुमिल बनाउँछ, जसबाट अशान्ति, दुःख र रोगले जरा गाड्छन्। ती विचारहरू रिस, लोभ, मोह र ईष्र्याका विषालु काँडाहरू हुन्, जसले मनको बगैँचा उजाड बनाउँछन्। यसको ठिक विपरीत, जब हामी प्रेम, करुणा, सत्य र धैर्य जस्ता ‘शुद्ध विचारहरू’को खेती गर्छौँ, तब मनमा शान्ति र आनन्दको वर्षा हुन्छ।

पुस्तक भन्छ– हाम्रा विचारहरू हावामा मात्र उड्दैनन्, बरु तिनले हाम्रो दिशालाई स्थिर परिवर्तित गर्नमा, भाग्य निर्धारण गर्नमा र कर्मलाई सिद्ध वा नष्ट गर्नमा मुख्य भूमिका खेल्छन् । मनमा उठ्न लागेका विचार नै भविष्यका बीज हुन्, र मन त्यो खेत हो जहाँ सुखका विचारलाई दृढ बनाउनाले जीवन अवश्य सुध्रिन्छ। यो दर्शनले मानिसलाई आफ्नो भाग्यको नियन्त्रक स्वयम् घोषणा गर्छ।

पुस्तक भन्छ —असल विचार नै हरेक राम्रो कर्मको उद्गम हो।जसरी एउटा सानो बिजुलीको करेन्टले ठुलो यन्त्र चलाउन सक्छ, त्यसरी नै विचारको सूक्ष्म ऊर्जाले आत्मिक शक्ति र सर्वज्ञता प्रकट हुनसक्छ। स्वामीज्यूले ध्यान र ब्रह्मचर्यलाई विचार शुद्धिको महाऔषधि बताउनुभएको छ। त्यसका साथै सत्सङ्ग र पुस्तक अध्ययनले पनि विचारलाई दृढ बनाउने कुरा व्यक्त छ।

‘विचार विज्ञान’ले हामीभित्रका समस्याहरूलाई पहिचान गरेको छ। केवल समस्याको पहिचान मात्र गरेन, बरु त्यसको समाधानको सूत्र पनि बतायो— त्यो हो एकाग्रता। जुन कुराको हामी एकाग्रतापूर्वक विचार गर्छौँ, त्यसमा सफलता अवश्य मिल्छ भन्ने यो अकाट्य सत्यले मेरो मनमा गहिरो आत्मविश्वास भरिदियो। संसारमा असफलता र दुःख भोग्नुको मूल कारण नै हाम्रो छरिएको र नियन्त्रणहीन विचार रहेछ। पुस्तकमा चरित्र बललाई सबैभन्दा ठुलो कुरा मान्नु र स्वास्थ्यका लागि ‘आशा’लाई बलवान औषधी मान्नुले यो किताब भौतिकभन्दा बढी आत्मिक उन्नयनको पथप्रदर्शक रहेको बुझ्न सकिन्छ।

नकारात्मक विचारहरूलाई हटाउने उपाय पनि अत्यन्त सरल र प्रकृतिसँग जोडेर भनिएको छः नराम्रा विचारहरूलाई सिँचाइ गर्न बन्द गरिदिएपछि तिनीहरू खेतमा पानी नपाएको खेतीझैँ सुकेर जान्छन्। स्वामीको तुलनात्मक दृष्टिले भन्छ – नराम्रा विचार जङ्गली घाँससमान हुन् जसले असल फलदार वृक्षलाई उम्रन दिँदैनन्। त्यसैले, हामीले चतुर मालीले झैँ नराम्रा विचारका जरालाई उखेलेर फालिदिनु पर्छ। राम्रा र नराम्रा विचार गर्न उति नै श्रम खर्च हुने भएकाले हामीले नराम्रा विचार उमार्ने भूल होइन, राम्रा विचारको मूल फुटाउनु पर्छ।

कुरोको चुरो त के रहेछ भने – हामी समृद्धि चाहन्छौँ, तर मनमा गरिबीको चिन्ता पालेर बस्छौँ। हामी निरोगी बन्न चाहन्छौँ तर मनमा अनेक रोगका कल्पना र रोग चिन्तन गरेर बस्छौँ ।हामी सफल हुन चाहन्छौँ तर असफलतालाई मनमा अत्यिधिक खेलाउँछौँ । हामी चाहेकोभन्दा नचाहेको कुरालाई मनमा बढी ल्याउँदा रहेछौँ। यसले हाम्रो चेतनालाई कमजोर बनाउँदो रहेछ रपरिणाम त्यही आउँदो रहेछ, जे बढी सोच्छौँ । यही प्रसङ्गमा पुस्तकमा गजबको उक्ति राखिएको छः-
मानिस भन्दछन् 'ईश्वर आफ्ना भक्तहरूलाई दरिद्र बनाउँछ , त्यो कुरो ठिक होइन, किनभने ईश्वरले कसैलाई दरिद्र बनाउँदैन, न मूर्ख नै बनाउँछ, न धनवान न बलवान न विद्वान् नै बनाउँछ। ईश्वर त परम दयालु छ, सबको इच्छा पूर्ण गर्नेवाला छ, जो जस्तो इच्छा गर्दछ र जसका मनमा जस्तो विचार उत्पन्न हुन्छन्, तदनुसार ईश्वर उसलाई फल दिन्छ। जो जस्तो विचार गर्दछ, त्यो उस्तै बन्दछ।
त्यसो भए के गर्ने त, यसको उत्तर पनि पुस्तकभित्रै भेटिन्छः-
यदि तिमीलाई धनको इच्छा छ भने सदैव विश्वलाई धनले भरिएको हेर। आरोग्यता चाहिन्छ भने सदैव आफूलाई आरोग्यवान मान। प्रेम चाहन्छौ भने आफ्नो मनमा प्रेमको विचार गर। जुन वस्तुको इच्छा छ उसैमाथि आफ्नो विचार केन्द्रित गर तर स्मरण राख कि आज धनको भोलि दरिद्रताको विचार गर्नाले दुवै आफ्नो आफ्नो फल दिन्छन्।
हामीले मनमा आफ्नै चाहनाको विपरीत भाव नल्याउनु पर्ने रहेछ। कस्तो मार्मिक सत्य! स्वामी भन्नुहुन्छ, हाम्रा राम्रा विचारहरूमा नराम्रा विचारको सानो अंश मिसिँदा, असल सङ्कल्पको बल क्षीण भएर जान्छ। धेरै दुधमा अलिकति अमिलो प पर्‍यो भने दुध फाटेजस्तै। त्यसैले त ‘उन्नति मार्गको मूल मन्त्र शुभ सङ्कल्प’ बाहेक अरू नहुँदो रहेछ।
स्वामीज्यूको यो ग्रन्थले मलाई अर्को कुरा के बुझायो भने, मानसिक स्वतन्त्रता नै मनुष्यको सबैभन्दा ठुलो जित हो। हामी अक्सर बाहिरी परिस्थिति, अरूका कुरा र क्षणिक घटनाहरूका दास बनिरहेका हुन्छौँ, तर जब हामी आफ्नो विचारलाई नियन्त्रण गर्न सिक्छौँ, तब हामी आफ्नै भाग्यका निर्माता बन्छौँ। पुस्तकमा भनिएको छ – यदि मानिसले सही ढङ्गले विचार गर्न सिक्यो भने भाग्य उसको हातको कठपुतली बन्ने छ।
सफलताको फल पाउन विचारहरूको एकता र दृढता चाहिँदो रहेछ, पुस्तकमा यो कुरा गजबको दृष्टान्तसहित बुभाइएको छ – बन्दुकमा छर्रा भरेर छोड्नाले चारैतिर फैलिएर कुनै पूरा परिणाम हुँदैन। तर उनै छर्राको गोली बनाएर छाड्नाले भयङ्कर परिमाण हुन्छ। तर तिनलाई नै एकत्र गर्नले अद्भूत शक्ति उत्पन्न भई अशक्य काम पनि लिन सकिन्छ । उस्तै नै विचारहरूको शक्ति पनि अपरिमित,अप्रतिहत र अप्रतक्र्य छ तर जबसम्म ती अनेक विषयहरुमा फैलिन्छन् तबसम्म तिनको केही पनि फल हुँदैन।
आफ्ना गल्तीहरूलाई हर प्रयत्नले छुपाउन खोज्ने र सानो सहयोग र पुण्य कर्म गरेजस्तो गर्ने बित्तिकै फुर्ती लगाउने हामीजस्ताले यो कुरा सोच्न जरुरी छ। – आफ्ना पापहरूलाई नलुकाऊ र पुण्यहरुलाई प्रकट नगर । लुकाउनाले पाप बढ्नेछन् र प्रकट गर्नाले पाप घट्नेछन्। उस्तै नै पुण्य प्रकट गर्नाले घट्नेछन् र लुकाउनाले पुण्य बढ्नेछन्। पुण्यलाई कपुरको भाती जान यदि बोतलको मुख खोलेर राख्यो भने त्यो कपुर उडेर जान्छ। पाप नराम्रो वस्तु हो, त्यसैले पापलाई लुकाएर राख्यौ भने भित्रै विष उत्पन्न गरेर हृदयका सब शुद्ध भावलाई नष्ट गरिदिनेछ।

ज्ञान दिग्दर्शानले भरिपूर्ण छ खप्तड स्वामीको ‘विचार विज्ञान’
‘विचार विज्ञान’ पढिसक्दा मेरो मनमा क्षणिक रूपमै भए पनि एउटा शान्ति र प्रेरणाको सञ्चार भयो। हेरौँ, यो क्षणिकतालाई जीवनपर्यन्त बनाउने कुरा मेरो आत्मानुशासनमा भर पर्ला नै। पठन अनुभवले मलाई राम्ररी बुझायो, यदि संसार बदल्ने हो भने, पहिले आफ्नो विचार बदल्नु जरुरी रहेछ। हाम्रो भित्री संसार नै बाहिरी संसारको प्रतिविम्ब रहेछ।

पढ्नु शिक्षकको अनिवार्यता मात्र होइन, यो त उसको आत्माको पोषण हो। स्वामीको विचार विज्ञानले हामी शिक्षकलाई केवल विषयवस्तुको शिक्षक होइन, जीवन दर्शनको मार्गदर्शक बन्न प्रेरित गर्ने छ। शिक्षण कुनै पाठ्यक्रमको नीरस प्रस्तुति मात्र होइन, यो त चेतनाको बीज रोप्ने एउटा पवित्र यज्ञ हो, भन्ने कुराको मनन गराउने छ। विचार विज्ञानले शिक्षकको अन्तर्मनमा एउटा शान्त ऐना खडा गरिदिन्छ, जहाँ उभिएर ऊ आफ्नो मनको बगैँचा नियाल्न सक्छ। शिक्षकलाई चिन्तन गराउँछ — के मेरा विचारहरू सकारात्मक र अनुकरणीय छन्? के मेरा विचारले विद्यार्थीका सपनाहरूलाई ऊर्जामय बनाउन सक्छ? के मैले साचेका धारणाहरू कतै पुराना, खिया लागेका तालाहरू त होइनन्?

मलाई लाग्छ, यी उत्तरहरू शिक्षकले मौखिक रूपमा दिनै पर्दैन। उसलाई महसुस हुन्छ कि उसको अदृश्य विचारको कम्पन नै कक्षाकोठाको वातावरण हो। उसका विचारहरूको प्रतिक्रिया नै विद्यार्थीहरूको व्यवहार हो। विद्यार्थीका व्यवहारमा देखिएका स्वाभाविक–अस्वाभाविक, राम्रा–नराम्रा, जे जति गुण अबगुणहरू छन् ती सबैमा शिक्षकले निर्माण गरेको विचारको अंश पनि मिसिएको छ।

विचार विज्ञानले शिक्षकलाई आत्म–शुद्धि र सकारात्मक ऊर्जाको झरना बन्न प्रेरित गर्छ।यही आन्तरिक ज्योति लिएर शिक्षक आफ्ना प्रिय विद्यार्थीहरू सामु उभिने हो भने सादय वातावरण अर्कै बन्छ। विद्यार्थीलाई हामीले भन्नु छ, 'तिमीहरू स्वयम् शक्तिशाली विचारका महासागर हौ। तिमीहरूले बाहिरको संसारलाई बदल्नुअघि आफ्नो मनको दुनियाँ बदल्न सिक। सपनाको बीउ सधैँ सकारात्मक सोचको माटोमा रोप। तिम्रो अटल विश्वास नै तिम्रो सफलताको सबैभन्दा ठुलो शक्ति हो।'

खप्तड स्वामीको विचार विज्ञान पढ्दा जो कोहीले पनि दर्शन, विज्ञान र अध्यात्मको त्रिवेणीमा स्नान गर्ने छन्। यो पुस्तक पठनको यात्राले सोचाइको गहिराइलाई विस्तार गरिदिने छ, मनमा शान्तिको दियो बाल्ने छ। जीवनलाई सकारात्मक दिशामा डो¥याउने छ। आत्मा जागरणको चेतना खुल्ने छ र जीवन जिउने वास्तविक कला सिकाउने छ।

‘विचार विज्ञान’ भित्र थुप्रै प्रेरक कथा प्रसङ्गहरू, नीतिका श्लोकहरू र विद्वान् वर्गका भनाइहरू पनि निकै रोचक रूपमा आएका छन्। तिनलाई पनि कुनै दिन सङ्क्षेपमा प्रस्तुत गरौँला। अहिले माथिको मनगढन्ते कुरालाई छोडौँ, पढौँ ‘विचार विज्ञान’ भित्रका तथ्यगत कुराः –

‘विचार विज्ञान’ भित्रका मननयोग्य विचारहरूलाई टिपोट गर्दा
१- जुन वस्तु जति सूक्ष्म हुन्छ त्यसको बल पनि उति नै बढी हुन्छ।

२- ढुङ्गाभन्दा माटो, माटोभन्दा पानी, पानीभन्दा बाफ, बाफभन्दा वायु, वायुभन्दा आकाश अर्थात् शब्दको गति, शब्दको गतिभन्दा प्रकाशको बल, प्रकाशको बलभन्दा बिजुलीको बल, बिजुलीको बलभन्दा पनि विचारको बल अति सूक्ष्म छ र बलवान पनि।

३- जब हाम्रा विचार बाहिरतिर जान्छन्, तब ती खाली हावामा उड्दैनन्। ती हाम्रो दिशालाई स्थिर परिवर्तित गर्नमा एवम् धनवान् वा दरिद्र बनाउनमा, हाम्रा कार्यहरुलाई सिद्ध वा नाश गर्नमा मुख्य कारण हुन्छन्।

४- बिरामीहरूका लागि सबै औषधिहरूमा स्वास्थ्यको आशा नै बलवान औषधि हो।

५-    व्यक्तिमा हुनुपर्ने सबैभन्दा ठुलो कुरा चरित्र बल हो। 

६-    मानिसले सही ढङ्गले विचार गर्न सिक्यो भने भाग्य उसको हातको कठपुतली बन्ने छ।

७-    मनमा उठ्न लागेका विचार नै भविष्यका बीज हुन्छन्। मन खेत समान हो यसमा सुखका विचारलाई दृढ बनाउनाले जीवन सुध्रिने छ।

८-    यदि मानिसले सही ढङ्गले विचार गर्न सिक्यो भने भाग्य उसको हातको कठपुतली बन्ने छ।

९-    मानिस भन्दछन् 'ईश्वर आफ्ना भक्तहरूलाई दरिद्र बनाउँछ , त्यो कुरो ठिक होइन, किनभने ईश्वरले कसैलाई दरिद्र बनाउँदैन, न मूर्ख नै बनाउँछ, न धनवान न बलवान न विद्वान् नै बनाउँछ। ईश्वर त परम दयालु छ, सबको इच्छा पूर्ण गर्नेवाला छ, जो जस्तो इच्छा गर्दछ र जसका मनमा जस्तो विचार उत्पन्न हुन्छन्, तदनुसार ईश्वर उसलाई फल दिन्छ। जो जस्तो विचार गर्दछ, त्यो उस्तै बन्दछ।

१०-    पूर्ण परमात्माले अपूर्ण संसारको सृष्टि किन गर्थ्यो। मानिस पूर्ण हुनका लागि नै बनाइएको हो तर स्वयम् आफ्नो भुलले कष्ट भोगिरहेको छ।

११-    जसरी एउटै मार्गमा गाडीहरू लगातार दौडिरहने गरे मार्गमा गाडीका पाङ्ग्राहरूका चिन्ह बन्दछन् र इनारमा डोरीको घोटाइले ढुङ्गामा चिन्ह बन्दछ। त्यसैगरी एउटै विचार बारम्बार पुष्टताले गरिएको छ भने मस्तिष्कमा त्यसप्रकारका परमाणु पुष्ट हुन जान्छन् र ज्ञानतन्तुहरूलाई त्यसअनकूल चल्ने स्वभाव पर्न जान्छ।

१२-    जब किसान आफ्नो खेतमा रोपेको खेतीलाई सुकाउन चाहन्छ तब सिँचाइ गर्न बन्द गरिदिन्छ, तब वृद्धि रोकिन्छ र खेती सुक्छ त्यस्तै आफ्ना मनमा जमेका नराम्रा विचारलाई नष्ट गर्नु छ भने तिनलाई सिँच्न बन्द गरिदिनु पर्छ।

१३-    मानिस नराम्रा विचार धेरै गर्छ र राम्रा विचार ज्यादै कम। राम्रा विचार गर्नमा जति श्रम पर्दछ, नराम्रा विचार गर्नमा पनि उति नै श्रम पर्दछ।

१४-    कुनै खेतमा बेकामको घाँसले ढाकेको छ भने त्यसमा राम्रा फलदार वृक्ष उम्रन सक्दैनन्। त्यसैले चतुर मालीले ती बेकम्मा घाँसका जरालाई खनेर निकालिदिन्छ। त्यस्तै हामीले नराम्रा विचारका जराहरूलाई उखेलेर उत्तम फलदार वृक्षहरूलाई जन्माउनुपर्छ।

१५-    ठुलो वृक्षको जरो धेरै गहिरो हुन्छ र जङ्गली घाँसहरूको जरा माथि नै हुन्छन्। नराम्रा विचार जङ्गली घाँससमान हुन् र उत्तम विचार फलदार वृक्षसमान हुन्।

१६-    जहाँ परस्पर विरोधी विचारहरूको जम्काभेट हुन्छ, उहाँ दुवैको बल घट्छ। तिनमा जो बलवान छ उसैको जय हुन्छ। जस्तो धेरै दुधमा अलिकति पनि अमिलो पर्‍यो भने दुध फाट्छ उस्तै धेरै राम्रा विचारहरुमा पनि अलिकति नराम्रा विचारहरुले बिगारिदिन्छन् र असल विचारहरुको बल कम हुन जान्छ।

१७-    हाम्रो शरीरमा कुनै पनि प्रकारको रोग आफ्नो मनोआज्ञाले आउँदैन। बरु जब हामी उसलाई बोलाउँछौँ तब उ डराई डराई आउँछ। किनभने हामी रोगको विचार धेरै गर्छौँ अर्थात् रोगको इच्छा गरेर नै रोगलाई बोलाउँछ।

१८-    उन्नति मार्गको मूल मन्त्र शुभ सङ्कल्प हो।

१९-    सुख दुख हाम्रा संकल्पका फल हुन् भन्ने बुझ्यौँ भने दुःख पनि अधिक दुःखदायी हुन सक्दैन। आफ्नै हातबाट जो चोट लाग्छ त्यो त्यति दुःखदायी हुँदैन। तर त्यति नै चोट अर्काको हातबाट लाग्यो भने अधिक दुःखदायी प्रतीत हुन्छ।

२०-    विचारले राम्रो वा नराम्रो असर नदेखाई छोड्दैन, जस्तो सानो बरको बिउबाट विशाल वृक्ष बन्न जान्छ उस्तै नै सानो विचारको महान फल हुन्छ।

२१-    यदि तिमीलाई धनको इच्छा छ भने सदैव विश्वलाई धनले भरिएको हेर। आरोग्यता चाहिन्छ भने सदैव आफूलाई निरोगी ठान। प्रेम चाहन्छौ भने आफ्नो मनमा प्रेमको विचार गर। जुन वस्तुको इच्छा छ उसैमाथि आफ्नो विचार केन्द्रित गर तर स्मरण राख कि आज धनको भोलि दरिद्रताको विचार गर्नाले दुवै आफ्नो आफ्नो फल दिन्छन्।

२२-    एउटा विचारको असर मानिसको अङ्ग प्रत्याङ्गमा हुन्छ। विचारको आभास मनुष्यको मुखमण्डलमा, नेत्रमा, चालमा, रङ्ग ढङ्ग र प्रत्येक क्रियामा प्रतीत हुन लाग्दछ।

२३    मस्तिष्क केन्द्र नै विचारहरूको माध्यम यन्त्र हो। अन्य यन्त्रहरूको अपेक्षामा मस्तिष्क अधिक शक्तिशाली र पूर्ण छ। मस्तिष्क नै सांसारिक सिद्धिहरूको कारखाना हो।

२४-    संसारमा इच्छाशक्ति संकल्पमा परिवर्तन हुन जान्छ। सङ्कल्पबाट मनुष्य र मनुष्यबाट सङ्कल्प हुन्छ। मानिसको इच्छाशक्तिले नै भाग्यलाई बनाउँछ। 

२५-    मानसिक स्वतन्त्रता मनुष्यको सबैभन्दा ठुलो जित हो। 

२६-    विद्युत शक्ति उत्पादनका लागि ठुलाठुला यन्त्रहरूको आवश्यकता हुन्छ। तर हाम्रो सानो जस्तो विचारशक्ति यन्त्रबाट कम्पन, ताप, शब्द, प्रकाश र लौह चुम्बकवत् मानसिकशक्ति, इच्छाशक्ति, प्रेम, क्रोध, बुद्धि, बल आदि कति शक्तिहरु उत्पन्न हुन्छन्।

२७-    नीति एक न्यायशील वेतनाध्यक्ष हो। यो सबैलाई उति नै दिन्छ, जति उसले कमाएको छ। एक कौडी पनि त्यो अधिक दिँदैन। यसैले जो उन्नत दिव्य शक्तिरूप वेतन लिन चाहन्छन् उनले गूढ विचारद्वारा त्यसलाई प्राप्त गर्नुपर्दछ।

२८-    बन्दुकमा छर्रा भरेर छोड्नाले चारैतिर फैलिएर कुनै पूरा परिणाम हुँदैन। तर उनै छर्राको गोली बनाएर छाड्नाले भयङ्कर परिमाण हुन्छ। तर तिनलाई नै एकत्र गर्नले अद्भूत शक्ति उत्पन्न भई अशक्य काम पनि लिन सकिन्छ। उस्तै नै विचारहरूको शक्ति पनि अपरिमित, अप्रतिहत र अप्रतक्र्य छ तर जबसम्म ती अनेक विषयहरुमा फैलिन्छन् तबसम्म तिनको केही पनि फल हुँदैन।

२९-    अग्निलाई शिथिल गर्नु जललाई पत्थर बनाइदिनु पृथ्वीलाई कम्पन गरिदिनु वायुलाई स्तम्भित गरिदिनु आदि सब केवल विचारहरूका नै प्रभाव हुन्।

३०-    स्थिर पानीमा प्रतिबिम्ब पर्दछ बगिरहेको पानीमा प्रतिबिम्ब सफा देखा पर्दैन। उस्तै नै हाम्रो चित्तवृत्ति स्थिर र मन एकाग्र होस् तब मात्र हामी अर्काको विचार लिन सक्छौँ। र सामुन्नेको मानिसको मन पनि एकाग्र होस् तब आफ्नो विचार उसमा पुर्याउन सक्छौँ।

३१-    पूर्ण विश्वास गर्नु कार्यसद्धि गर्नु समान नै हो। ‘म सबथोक गर्न सक्छु’ यो विश्वास सदा राख्नाले सब जीवकोष तिमीलाई उस्तै नै बनाइदिनेछन्।

३२-    मनलाई दास बनाऊ मालिक नबनाऊ ।

३३- दृढ विचारको अर्थ हो विचार र त्यसलाई कार्यरूपमा ल्याउने इच्छा र उद्योग। जुन विचार निर्बल हुन्छन् र जसमा तीव्र इच्छा हुँदैन ती विचार होइनन् कल्पना मात्र हुन्।

३४-    सर्वथा सिद्धि गर्ने आशा हो र सर्वथानाशक उसकी बहिनी निराशा हो। 

३५-    जस्तो मन हुन्छ उस्तै नै दृष्टि हुन्छ। जस्तो दृष्टि हुन्छ, उस्तै नै दृश्य देखा पर्दछ।

३६-    वाणीको संयम गरेर अनावश्यक कुरा कहिल्यै नगर तथा कसैको निन्दा र चुक्ली पनि नगर न त स्तुति नै गर।

३७-    कपट चातुरीले आफूलाई बुद्धिमान सिद्ध गर्नेहरूभन्दा तिमी निश्चय नै उच्च स्थितिमा छौ। 

३८-    आफ्ना पापहरूलाई नलुकाऊ र पुण्यहरुलाई प्रकट नगर। लुकाउनाले पाप बढ्नेछन् र प्रकट गर्नाले पाप घट्नेछन्। उस्तै नै पुण्य प्रकट गर्नाले घट्नेछन् र लुकाउनाले पुण्य बढ्नेछन्। पुण्यलाई कपुरको भाती जान यदि बोतलको मुख खोलेर राख्यो भने त्यो कपुर उडेर जान्छ। पाप नराम्रो वस्तु हो, त्यसैले पापलाई लुकाएर राख्यौ भने भित्रै विष उत्पन्न गरेर हृदयका सब शुद्ध भावलाई नष्ट गरिदिनेछ। 

३९-    जो अर्काको हानी गरेर स्वयं सुख चाहन्छ त्यसले आफ्नै लागि दुःखहरूको बिउ छर्दछ। 

४०-    शान्तिको समयमा त सबैले आफ्नो कामलाई ठिक रीतिले गर्दछ। तर मनुष्यत्व त्यसैको नाम हो। जो दुःखमा वा अशान्तिमा पनि मनमा घबराहट आउन नदियोस् र आफ्नो मनलाई आफ्नो अधिनमा राखोस्।

४१-    मन नै मानिसको बन्धन र मोक्षको कारण हो।

४२-    संसारमा कुनै वस्तु दुःखदायक छैन। 

४३-    शरीर केवल निर्जीव यन्त्र र आत्माको घर हो। आत्मा हुनाले नै कार्य गर्न सक्दछ होइन भने शरीर त माटाको ढिस्को हो।

४४-    अप्रसन्नताको अवस्था हटाउनु छ भने विचारहरूलाई पल्टाइदेऊ। मानिस कार्यलाई पल्टाउन सक्दैन तर कारणलाई पल्टाउन सक्छ। 

४५-    मन अति चञ्चल छ त्यसको शान्तिको उपाय गर्दागर्दै पनि मौका पाएर निस्कन्छ किनभने त्यसको स्वभाव नै चञ्चल छ। एक क्षण पनि स्थिर रहँदैन। त्यसलाई राम्रो विचारमा लगाइन्छ भने पनि नराम्रा विचारहरूमा दौडेर जान्छ। मनले सदा नै नीच विचार गर्दछ। त्यसैले यदि आफ्नो भविष्य सुधार्नु छ भने पहिले शुभ संकल्प गर्न सक्नुपर्छ। 

४६-    अत्यन्त दृढ सच्चरित्र र सदाचारी मानिसको मनमा आफ्नो हानिको विचार कहिल्यै उत्पन्न हुँदैन। र उसको मनमा बदला लिने भाव हराइसकेको हुनाले उसको कुनै शत्रु रहँदैन। 

४७-    आशा र आत्मविश्वासमा नै मानिस संसारमा जीवित रहन सक्छ र सब प्रकारका उन्नति गर्न सक्छ। 

४८-    शिक्षा र अभ्यासको प्रबल प्रयत्नद्वारा आफ्ना स्वभाव वा चालचलनमा परिवर्तन गर्न सकिन्छ। 

४९-    जसरी विषको बीज छरिन्छ उसरी नै अमृतको बीज पनि सर्न सकिन्छ अर्थात् अनिष्ट कामनाको स्थानमा अभीष्ट कामनाको बीज पनि छर्न सकिन्छ। 

५०-    तीव्र इच्छा,दृढ विश्वास र अभ्यास ः यी तीनओटै परमावश्यक छन् यसबाट चरित्र सङ्गठनको बाटो खुल्दछ ।

५१-    जो जति भावुक हुन्छ, त्यो त्यति नै अधिक विचारहरूको सृष्टि गर्न सक्छ। 

५२-    विचारमय जीवन नै आदर्शरूप पवित्र जीवन हो। 

५३-    हामी महान बन्ने कारण हाम्रो आत्मामा नै विद्यमान छ। बाहिर कहीँ खोज्न आवश्यकता छैन। 

५४-    मानिसका महत्ताको लक्षण आत्मविश्वास हो, जसमा आत्मविश्वास छैन त्यो निर्बल हो, डरपोक हो, काँतर हो। त्यो कुनै कार्यमा सिद्धि प्राप्त गर्न सक्दैन। 

५५-    सानासाना कुराहरूलाई पनि मन लगाएर गर यही विशाल बन्ने ठुलो साधन हो। सानासाना काममा पनि आफ्नो विशालताको पूरा परिचय देऊ । 

५६-    भूतकाल व्यतीत भइसक्यो वर्तमानमाथि तिम्रो अधिकार छ त्यसैले भविष्य जस्तो चाहन्छौ उस्तै बनाउने प्रयत्न गर ।

५७-    सुभेच्छाले गरेको सानो काम पनि ठुलो फल दिन्छ। 

५८-    ईश्वरपूर्ण शुद्ध, सच्चिदानन्द स्वरूप छ, जुन भाव उसमा गरिन्छ उसै भावको प्रतिबिम्ब रुप फेला देखा पर्दछ। 

५९-    दृढ सङ्कल्प नै सफलताको साँचो हो। 

६०-    जुन मानिस वा वस्तुको प्रभाव मधुर छ, महत्त्व छ, सुन्दर छ, हितकर छ, उसका तर्फ हृदयको ढोका खोलिदेऊ। अर्थात् नित्य बारम्बार उसको चिन्तन गर यही नै हृदयको ढोका खोल्नु हो। 

६१-    अरूले तिमीलाई के भन्दछन्, के सम्मति दिन्छन्। त्यसमा किञ्चित वास्ता नगर। तर तिम्रो अन्तरात्मा तिम्रो लागि के भन्दछ, यसमा विशेष ध्यान देऊ।
६२-    निर्बल विचारहरूलाई बलवान् बनाउने साधन एकान्त हो। 

६३-    एकाग्रतापूर्वक गरिएको विचारले असम्भवलाई पनि सम्भव तुल्याउँछ। 
सफलता प्राप्तिका लागि दुई कुराको आवश्यकता हुन्छ – पूर्ण विश्वास र नियमपूर्वक अभ्यास।
भट्ट बैजनाथ मा.वि., बेलडाँडी ५, कञ्चनपुरको प्रधानाध्यापक हुन् ।

कमेन्ट लोड गर्नुस