प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले सोझै सिंहदरबार वैद्यखाना औषधी खरिद गर्ने
धनगढी: प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले सिंहदरबार वैद्यखानाबाट आयुर्वेदिक औषधी खरिद गर्ने भएको छ। आयुर्वेद चिकित्सालयले जिटुजी सम्झौता गरी औषधी खरिद गर्ने भएको हो।
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले नि:शुल्क वितरण गर्ने प्रयोजनका लागि पहिलो पटक जीटुजी सम्झौता गरी सिंहदरबार वैद्यखानाको औषधी खरिद गर्न लागेको चिकित्सालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामकामेश्वर ठाकुरले बताए। उनले सुरूमा नि:शुल्क वितरण गर्ने औषधी खरिद गर्ने र दोस्रो चरणमा फार्मेसीका लागि समेत औषधी गरिद गर्ने योजना रहेको बताए।
राष्ट्रकै मौलिक धरोहरको रूपमा रहेका सिंहदरबार वैद्यखानालगायतका संस्थाहरूको उत्थान तथा नागरिकमा सहज, सुलभ र गुणस्तरीय औषधी आपूर्ति गर्न जीटुजी प्रक्रियामार्फत औषधी गरिद गर्ने डाक्टर ठाकुरले बताए। यसरी खरिद गर्दा बिरामीले गुणस्तरीय औषधी पाउने र चिकित्सालयको खरिद प्रक्रिया पारदर्शी हुने डाक्टर ठाकुरको दाबी छ।
जीटुजी प्रक्रियामार्फत सिंहदरबार वैद्यखानाबाट आयुर्वेदिक औषधी खरिद गर्दा खरिद प्रक्रियामा चलखेल नहुने, एक सरकारको पैसा अर्को सरकारलाई जाने र उपभोक्ताले गुणस्तरीय औषधी पाउने सुनिश्चितता हुने दाबी गरिएको छ। सोझै औषधी खरिद गर्न सिंहदरबार वैद्यखाना विकास समिति र प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीबिच असोज ३१ गते सम्झौता भएको हो।