सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मनसुन प्रतिकार्य योजना निर्माणमा लापर्बाही

२०८२ असोज २३, १०:४५ खबर संवाददाता

धनगढीः बर्सेनि मनसुनजन्य विपत्को सामना गर्दै आएको सुदूरपश्चिम प्रदेशमा यस वर्षको मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना (एमपिआरपी) निर्माणमा प्रदेश सरकारले लापर्बाही गरेको छ। 

मौसम विज्ञ धर्मराज उपे्रतीले मनसुन सुरुवातमै बनाउनुपर्ने मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना यस वर्षको मनसुन सुदूरपश्चिमबाट बाहिरिँदासम्म नबनाएर प्रदेश सरकारले त्रुटि गरेको गुनासो गरे। मनसुन अवधिमा मनसुनजन्य विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण, खोज, उद्धारलगायतको कार्यका लागि हरेक वर्ष एमपिआरपी अद्यावधिक र पारित गरेर त्यसको आधारमा काम गरिन्छ।

विपत् आउनुभन्दाअगाडि पूर्वतयारी, विपत्को समयमा खोज, उद्धार र विपत्पछि पुनस्र्थापना, व्यवस्थापनलगायतको कार्य यसकै आधारमा हुने गर्छ। तर यस वर्ष मनसुन बाहिरिँदासम्म सुदूरपश्चिम प्रदेश सरकारले एमपिआरपी बनाउन सकेन। मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना बनाएर पास नगर्नु भनेको जनतालाई उल्टै विपत्मा धकेल्नु सरह रहेको विज्ञहरूको बुझाइ छ। 

मौसमबारे जानकार एक जना विज्ञले भने, 'पूर्वतिर भएको जस्तो विपत् पश्चिमतिर भएको भए प्रदेश सरकारले के गथ्र्यो? यो पास नगर्नु भनेको जनतालाई उल्टै विपत्मा धकेल्नु हो।' आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना तयार गरिएको थियो तर त्यसमा केही संशोधन गर्नुपर्ने आवश्यक भएपछि त्यो पास हुन सकेन । तयार पारिएको कार्ययोजनालाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको अध्यक्षतामा रहेको कार्यकारी समितिले पास गर्नु पर्छ। 

यो समितिमा विषयगत मन्त्रालयहरू सदस्य रहने गरेका छन्। समितिको छलफलमा विषयगत मन्त्रालयका सचिवले फरक मत राखेपछि त्यसले पनि मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना पास गर्नमा बाधा भएको जनाइएको छ । छलफलमा विषयगत मन्त्रालयका केही सचिवको फरक धारणा आएको मन्त्रालयका प्रवक्ता एवं उपसचिव आमोद दाहालले स्वीकार गरे।

उनले मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना संशोधन गर्नुपर्ने देखिएपछि पास नभएको जिकिर गरे। 'सुरुमा एक खालको मनसुन हुँदा त्यही अनुसारको कार्ययोजना बनेको थियो,' दाहालले थपे, 'तर पछि मनसुनी मौसम अर्कै किसिमको हुँदा संशोधन गर्नुपर्ने कुरा आयो । त्यो संशोधन गर्नुपर्ने कारणले पास हुन सकेन।'

मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना नहुँदा काम गर्ने संयन्त्र नै नभएको हो कि भनेर नबुझ्न उनले बताए। उनले भने, “हामीसँग डकुमेन्ट नै नभएको होइन, पुरानो डकुमेन्ट छ । त्यसको आधारमा काम ग¥यौँ ।” मनसुन बाहिरिँदासम्म मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना नबन्नु प्रदेश सरकारको गम्भीर लापर्बाही होइन र ? भनेर कार्यकारी समितिका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीलाई सोध्दा उनले यस विषयमा अनविज्ञता प्रकट गरे। 

कमेन्ट लोड गर्नुस