सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूद्धारा क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयमा सरसफाई  

२०८२ भदौ ३१, ०८:०० जयन्त सिंह भाट

धनगढीः समाजका लागि समाजशास्त्र भन्ने नारा सहित कैलाली बहुमुखी क्याम्पसका मानविकी र समाजशास्त्रका विद्यार्थीहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरसफाई गरेका छन्। 

मानविकी तथा समाजशास्त्र अध्ययनरत विद्यार्थीहरूले शान्ति र सद्भाव  देश पुनर्निर्माणको सन्देश दिनका लागि गत २४ गते जेन्जी पुस्तको आन्दोलनमा आन्दोलनकारीहरुले आगजनी र तोडफोड गरेको सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय सरसफाई  गरेको विद्यार्थी सन्तोष रावलले बताए।

आन्दोलनका क्रममा केही व्यक्तिहरूले कार्यालयमा आगो लगाएर र तोडफोड गरेका थिए जसका कारण कार्यालयका संरचनामा क्षति पुगेको थियो। उनले यस पहललाई समाजमा सकारात्मक परिवर्तन र जिम्मेवार नागरिकका रुपमा एक उदाहरण प्रस्तुत गर्न खोजेको बताए।  उनले भने, “हामी समाजशास्त्रका विद्यार्थीका रूपमा समाजमा सकारात्मक प्रभाव पुर्याउन चाहन्छौं। जेनजी आन्दोलनले स्थापित गर्न खोजेका मुद्दाहरुलाई टेवा पुर्याउन सबैले आआफ्नो स्थानबाट नयाँ सोचविचारका साथ लाग्नुपर्छ।”

जेनजीका नाममा अराजक व्यक्तिहरुले तोडफोड गरे पनि अहिलेको परिस्थितिमा विद्यार्थीहरुले सभ्यताको परिचय दिन आवश्यक रहेको अर्का सिवद्यार्थी एवं कैलाली बहुमुखी क्याम्पसका स्ववियु सदस्य पुजन विष्टले बताए।  यो अभियानले जेनजी आन्दोलनको उद्देश्यलाई पनि बलियो बनाएको छ विद्याथीहरुले बताएका छन्। युवापुस्ताको आवाजलाई सम्मान गर्ने राज्य पुनर्निर्माणमा सबैको सहयोग आवश्यक रहेको विद्यार्थी महेश्वरी रेग्मी बताउँछिन्। 

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूले समाजको कल्याणका लागि आफ्नो भूमिका निभाउन अन्य नागरिकहरूलाई पनि सामाजिक दायित्व बुझाउन प्रेरित गरेका छन्। युवाहरुले  निरत्साहित नभई राज्यलाई आफुले सक्ने सहयोग गर्न आवश्यक रहेको कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष पन्तले बताए। मन्त्रालय सरसफाईमा क्याम्पसका प्राध्यापकहरुको पनि सहभागिता रहेको थियो।  
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस