ईमान्दारीपुर्वक कारागार फर्किए कैलालीका खगेन्द्र, आत्मसमर्पण गर्न फरार सबै कैदीलाई प्रहरीको आग्रह
धनगढीः कैलालीको गोदावरी नगरपालिका-९ का खगेन्द्र बहादुर बोहराले कैलाली जिल्ला कारागारमा आत्मसमर्पण गरेका छन्।
उनि विगत तीन वर्षदेखी लागुऔषध सम्बन्धि मुद्दामा कैलाली जिल्ला कारागारमा सजाय काटिरहेका थिए। भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा कैलाली कारागारमा पनि आगजनी र तोडफोड भएपछि त्यहाँबाट ६ सय ६० जना कैदिबन्दीहरु आफ्नो ज्यान जोगाउन भागेका थिए। पछिल्ला दुई दिनमा स्थिति सामान्य भएसंगै फरार कैदीहरुलाई फिर्ता हुन कारागार प्रशासनले आग्रह गरेपछि ईमान्दारी पूर्वक आफु कारागार फर्किएको कैदी बोहराले बताएका छन्।
जेलमा हुलदंगा र तोडफोड भएका कारण असुरक्षित महशुस गरि घर गएकोे र प्रहरी र कारागार प्रशासनको आग्रह अनुसार पुनः कारागार फर्किएको उनले कारागारलाई लेखेको निवेदनमा उल्लेख गरेका छन्।
कैलाली प्रहरीले गत २६ गते नै सबै कैदिबन्दीहरुलाई कारागार फर्कन सार्वजनिक अपिल गरेको थियो। हालसम्म कैलाली जिल्ला कारागारमा १२१ जना फर्किएको र बाँकीको खोजिकार्य जारी रहेको जेलर चिरञ्जिबि सापकोटाले बताएका छन्।
कैलाली कारागारमा हाल विभिन्न मुद्दामा जम्मा ६ सय ६७ जना कैद भुक्तान गरिरहेका थिए, जसमध्ये ७ जना भागेका थिएनन्। गोदावरीका खगेन्द्र बोहरालाई लागुऔषध मुद्दामा अदालतले ८ वर्षको जेल सजाय सुनाएको थियो। बाँकी कैद भुक्तान गर्न उनि कारागार फर्किएको उनको परिवारले जनाएको छ।