सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जापानीज इन्सेफ्लाइटिसका आठ बिरामी फेला, एकको मृत्यु 

घरदैलोमा स्वास्थ्यकर्मी
घरदैलोमा स्वास्थ्यकर्मी
२०८२ भदौ १८, ०५:४२ जयन्त सिंह भाट

धनगढीः कैलालीमा जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणका नयाँ बिरामीहरू फेला परेका छन्। स्वास्थ्य कार्यालय कैलालीका अनुसार हालसम्म आठ जना सङ्क्रमित फेला परेका छन्। 

जापानीज इन्सेफ्लाइटिस मच्छरबाट सर्ने भाइरल रोग हो, जसले मस्तिष्कमा असर गर्छ। यो रोग नेपालका तराई भेगहरूमा प्रायः गर्मीयाम र वर्षायाममा फैलिने गर्छ। 

स्वास्थ्य कार्यालय, कैलालीका सूचना अधिकारी मीन बहादुर धामीका अनुसार कैलालीमा जापानीज इन्सेफ्लाइटिसबाट एक जनाको ज्यान समेत गएको छ।  जिल्लाको जानकी गाउँपालिका‑२ का ७६ वर्षीय एक पुरुषको निधन भएको उनले बताएका छन्। यो रोग मच्छरको टोकाईबाट लाग्ने भएपनि सरसफाइमा ध्यान नदिदा र खोपको नियमितता नहुँदा समस्या हुने उनले बताए। “लामखुट्टेबाट बच्नु नै यसको सर्वोत्तम उपाय हो” उनले भने‚ “यद्दपी धैरैजसो केसहरूको हकमा कामका लागि बसाई सरेर भारत तिर जाने, बालबालिकालाई नियमित खोप लगाउन छुटाउने त्यसपछि झन्झट मानेर हामीकहाँ नआउने जस्ता समस्याहरूले चुनौती थपिएको छ”

उनका अनुसार बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बान्ता हुने वा वाकवाकी लाग्ने, कमजोरी महसुस हुने,  थकान वा असहजता महसुस हुने, तौल घट्ने यस रोगका प्रमुख लक्षणहरू हुन्। मस्तिष्कमा असर परिसकेपछि यसले जटिल रूप लिन्छ। कैलाली जिल्लाको टिकापुर नगरपालिका र जानकी गाउँपालिकातिर यसको जोखिम बढि देखिएको छ। 

लामखुट्टेको टोकाइबाट बच्न राति सुत्दा झुल प्रयोग गर्न र शरीर ढाक्ने कपडा लगाउन उनले सल्लाह दिएका छन्।  मच्छरको वासस्थान बन्ने ठाउँहरू, विशेषतः घर वरिपरिको फोहोर पानी, टायर, भाँडा, कुलर आदिमा पानी जम्न नदिन उनले आग्रह गरेका छन्।  

त्यस्तै हाँस, कुखुरा, सुँगुर, बंगुरपालन गर्ने क्षेत्रमा मच्छर बढी हुने भएकाले त्यस्ता स्थानहरूमा विशेष सावधानी अपनाउनु पर्ने उनले जोड दिएका छन्। 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस