कञ्चनपुरकी सम्झना भट्ट मृत्यु प्रकरण: श्रीमान कारागार चलान, तीन जना रिहा
कञ्चनपुरः बेलडाँडी गाउँपालिका–४ की १७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका उनका श्रीमान् पवन भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालत कञ्चनपुरले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि पवनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले मृतक सम्झनाका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ।
जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुरका अनुसार, बिहीबार न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले उक्त आदेश दिएको हो। गत साउन १८ गते बिहान सम्झना भट्ट आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
घटनापछि माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा पक्राउ परेका चार जनामध्ये एक जना पुर्पक्षमा थुनामा पठाइएका हुन् भने तीन जना रिहा भएका छन्।