सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी-पहिरो प्रभावितहरुका लागि स्थानीय सरकार मार्फत नै राहत वितरण गर्ने निर्णय

। फोटो स्रोत ।
२०७६ असार २८, ०५:४०

सरकारले अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकार मार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ। शनिबार सिंंहदरबारमा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी प्रदेश सरकारसँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय तहबाटै सम्पुर्ण राहत वितरण गर्ने निर्णय गरेको हो। 

यस्तै संघ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारकै सक्रियतामा राहत वितरण गरिने निर्णय भएको गृहसचिव प्रेम कुमार राईले जानकारी दिए। बैठकले अहिले तत्काल उपलब्ध ड्राइफुडहरु वितरण गर्न निर्देशन जारी गरेको उनले बताए।

यस्तै बैठकमा परराष्ट्र मन्त्रालयका सचिवले विपतमा परेकाहरुको उद्धार र राहतका लागि अन्तर्रा्ष्ट्रिय सहयोग माग गर्ने भन्ने प्रस्ताव राखेको भए पनि बैठकले त्यसलाई स्वीकृत दिएको छैन। बैठकले आन्तरिक व्यवस्थापनबाटै राहत र उद्धार गर्न सकिने निष्कर्ष निकाल्दै अहिले नै अन्तर्रा्ष्ट्रिय सहयोगको खाँचो नपरेको निष्कर्ष निकालेको हो।

पानी पर्ने क्रम अझै नरोकिए र बाढी पहिरो तथा डुबान हुने क्रम अझै बढेमात्रै अन्तर्रा्ष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्न सकिने तर अहिले नै त्यो अवस्था नरहेको भन्दै बैठकले परराष्ट्र मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकृत गरेको बताइएको छ। यस्तै सरकारले वर्षा नरोकिए अझै ठूलो क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ। 

गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विपद् व्यवस्थापनमा काम गर्दे आएका सामाजिक संघ संस्था र रेडक्रसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस