सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी र पहिरोमा परी ३० जनाको ज्यान गयो , १ सय ३३ जनाको उद्धार

२०७६ असार २८, ०३:५७ खबर संवाददाता

देशभर भइरहेको अविरल वर्षाका कारण  ३० जनाको मृत्यु भएको छ। शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानमा परी शनिबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३० पुगेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। नक्सालका अनुसार बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३।३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २।२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १।१ जना गरी ३० जनाको मृत्यु भएको हो।

यस्तै बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्। बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १। १ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ। स्थानीय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोलीले संयुक्त उद्धार गरेको थियो। बाढीपहिरोबाट धनमाल समेत क्षति भएको छ।

मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका हुन्। सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १।१ जना गरी १८ जना बेपत्ता भएका छन्।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित छन।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ। यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई शुक्रबार साँझ ७ बजे बाट सुचारु गरिएको त्रि.अ विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस