बैतडीमा शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली विद्यालयमा
बैतडीः बैतडीमा शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली विद्यालयमा परिचालन गरिएको छ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली परिचालन गरिएको हो। एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्न २१ जना विज्ञ खटिएका छन्। शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक विज्ञ टोलीमा सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए।
उक्त टोली कार्यक्षेत्रमा खटिसकेकोे शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले बताए। टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिने छन्। शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण गरिरहेको केन्द्रका निर्देशक निरौलाले बताएका हुन्।
लगानीअनुसारको शैक्षिक गुणस्तर कायम भए नभएका बारेमा यस कार्यक्रमले सहयोग पुग्ने गुणस्तर परीक्षणमा खटिएका डाक्टर चन्द्रप्रसाद लुइँटेलले बताए। स्थानीय तहको पुनःसंरचनापछि शिक्षा क्षेत्रमा केकस्ता प्रभाव परेको छ? भन्ने कुरा पनि यो अध्ययनले देखाउने उनले बताएका हुन्। शैक्षिक गुणस्तर परीक्षण गर्दा विज्ञ टोलीका सदस्यले एउटा विद्यालयमा चार दिन बिताउने छन्।
विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने जनाइएको छ। शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य अनुरूप परीक्षण भइरहेकाले यसले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।