सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिँदै

२०८१ मंसिर २७, ०२:१३ खबर संवाददाता

बैतडीः एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सुरु भएको छ।

गुणस्तर परीक्षणका लागि २१ जना विज्ञ खटिएका छन्। टोलीको विज्ञमा शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त भएका सह–सचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक रहेका छन्। विज्ञ टोली बुधबारदेखि कार्यक्षेत्रमा खटिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले बताए।

विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिने छन्। शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण भइरहेको केन्द्रका निर्देशक निरौलाले बताए।

बैतडीको अवस्था परीक्षण गरी देशभरिका सबै माविको सामूहिक तथ्याङ्क सरकारलाई बुझाइने उनले बताए। लगानी अनुसारको शैक्षिक गुणस्तर कायम भए नभएका बारेमा यस कार्यक्रमले सहयोग पुग्ने गुणस्तर परीक्षणमा खटिएका डाक्टर चन्द्रप्रसाद लुइँटेलले बताए।  शैक्षिक गुणस्तर परीक्षण गर्दा विज्ञ टोलीका सदस्यले एउटा विद्यालयमा चार दिन बिताउने छन्।

विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए।
 

कमेन्ट लोड गर्नुस