रवि र जीबीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ। वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधवार पक्राउ पुर्जी जारी भएको हो।
यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीवी राई हुन्। त्यहाँबाट गोर्खा मिडिया नेटवर्कमा पैसा भित्र्याएर अपचलन गरेको आरोपमा रवि, जीबीसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो। सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो।
रकम फिर्ता नपाएको भन्दै पीडितले जाहेरी दिएका थिए। अहिले रविमाथि चितवनमा बयान भइरहेको छ। काठमाडौंबाट पक्राउ परेका रविलाई कास्की, रुपन्देही, काठमाडौं लगि सकिएको छ। अहिले चितवन लगिएको छ। उनले त्यहाँको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिइरहेका छन्।