क्यानडाका अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने
काठमाडौंः क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्।
लुम्बिनीले बिहीवार जफरलाई अनुबन्ध गरेको जानकारी गराएको हो। २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने टिमको विश्वास छ।
पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए। उनले क्यानडाको राष्ट्रिय टोलीका लागि ओडिआई र टि २० आई दुवै खेलेका छन्। बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङ गर्ने उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चारै ओभर मेडन राख्दै किर्तिमान बनाएका थिए।
सन् २०२१ मा पानामाविरुद्धको खेलमा उनले ४ ओभर बलिङ गर्दा कुनै पनि रन नदिई २ विकेट लिएका थिए। जफरले क्यानडाका लागि ४९ टी २० आई खेल्दा ५५ विकेट लिएका छन् भने ब्याटिङबाट ३९० रन पनि बनाएका छन्। त्यस्तै सबैखाले टी २० मा ५५ खेलबाट ५७ विकेट लिएका छन्।