सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालसँग कुवेत १६५ रनले पराजित

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक २७, ०४:०२ खबर संवाददाता

कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ। नेपालले कुवेतलाई  एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो।

सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन्। नेपालबाट एउटै खेलमा शतक प्रहार तथा पाँच विकेट लिने पहिलो खेलाडी बन्दै उनले इतिहाससमेत रचेकी छिन्। युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर दुई सय १३ रन बनायो।

दुई सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्रै बनायो। कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ३६ रन बनाइन्। उनले ४२ बलमा सात चौका प्रहार गरिन्। जिफाबाहेक कुवेतका कुनै पनि खेलाडीले दोहोरो अङ्कले रन बटुल्न सकेनन्। नेपालले कुवेतलाई सात अतिरिक्त रन दिएको थियो।

बलिङतर्फ नेपालका लागि कप्तान महतोले पाँच तथा रचनाकुमारी चौधरी र सीमा केसीले दुई दुई विकेट लिइन्। यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान पूजा महतोले एक सय तीस रन बनाइन्। उनले ६९ बल खेल्ने क्रममा १७ चौका प्रहार गरिन्। यस्तै, सोनी पाख्रीनले ३३ बलमा दुई चौकाको मद्दतमा ४३, सावित्री धामीले ११ र साना प्रवीनले ६ रनको योगदान दिइन्।

कुवेतले नेपाललाई २३ अतिरिक्त रन दिएको थियो। बलिङतर्फ कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले एक एक विकेट लिए। नेपालले अब बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ।
 

कमेन्ट लोड गर्नुस