सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डै १० हजार लामखुट्टे संकलन गरेर पीसिआर प्रविधिबाट परीक्षण गरिँदै

कैलालीमा हात्तीपाइलेको संक्रमण पत्ता लगाउन अनुसन्धान

२०८१ कार्तिक ११, ११:४७ खबर संवाददाता

धनगढीः लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन कैलालीमा अनुसन्धान कार्य अघि बढाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य अघि बढाइएको हो। कैलालीमा  हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे संकलनको कार्य पूरा भएर प्रयोगशालमा परीक्षणको काम भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए।

कैलालीमा १० जना प्राविधिकको टोलीले ‘लाइट ट्याप’को माध्यमबाट तीन हजार ९७ र ‘माउथ एस्पिरेटर’को माध्यमबाट ६ हजार ७ सय ९ गरी ९ हजार ८ सय ६ लामखुट्टे संकलन भएका छन्। गत भदौ ४ देखि असोज १० गतेसम्म प्राविधिक टोलीले लामखुट्टे संकलनको कार्य गरेका हुन्। लामखुट्टे संकलनको कार्य पूरा भएर प्रयोगशालामा पिसिआर प्रविधिबाट परीक्षण भइरहेको छ।

परीक्षणको नतिजाका आधारमा हात्तीपाइले निवारण गर्न आगामी योजना तयार गरिनेछ। यसबाट लामखुट्टेको संक्रमणदर समेत पत्ता लाग्ने अपेक्षा गरिएको छ। मानिसमा मात्र सङ्क्रमण कम भएर रोग निवारणको लक्ष्य हासिल नहुने भएकाले रोग प्रभावित जिल्लामा रोग सार्ने लामखुट्टेमा सङ्क्रमण शून्य दशमलव शून्य २५ प्रतिशतभन्दा कम हुनुपर्ने जोशीले बताए।

हात्तीपाइले निवारणका लागि मानिसमा सङ्क्रमण दर एन्टिजेनमा एक प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियामा दुई प्रतिशतभन्दा कम हुनुपर्छ। सर्भेक्षणका क्रममा ६ देखि ७ वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाइले रोगको एन्टिजेन दुई प्रतिशतभन्दा कम हुनुपर्ने र २० वर्षमाथिका मानिसमा हात्तीपाइले रोगको माइक्रो फाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम हुनुपर्छ।

एन्टिजेन जाँचमा दुई प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम भएमा मात्र हात्तीपाइले रोग निवारणको लक्ष्य हासिल भएको मानिन्छ। लामखुट्टेमा हात्तीपाइलेको संक्रमणदर पत्ता लगाउन कैलालीमा देशमै पहिलोपटक अध्ययन–अनुसन्धानको कार्य भइरहेको छ।

कमेन्ट लोड गर्नुस