सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल

२०८१ असोज १५, ०९:०९

ललितपुर : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

आज ललितपुर महानगरपालिका–१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उनले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे। ‘यस्तो दुःखको घडीमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ। हाम्रो पार्टीले पनि सक्नेजति नेता कार्यकर्तामार्फत र बाँकी कामका लागि सरकारलाई आग्रह गरेर पीडितका समस्या समाधानको पहल गर्छ’, अध्यक्ष दाहालले भने। उनले बाढीपीडितका समस्या समाधान गरी पीडितले सहज रूपमा दसैँ मनाउने वातावरण बनाउन सरकारले द्रुतगतिमा पुनःस्थापनाका काम अगाडि बढाउनुपर्ने बताए। 

त्यस अवसरमा बाढीपीडितहरूले खानेपानी, विद्युत्लगायत अत्यावश्यक सेवा चाँडै आपूर्तिका लागि सहजीरण गरिदिन आग्रह गरेका थिए। स्थानीयले भनेका थिए, ‘बाढीले तहसनहसको अवस्था छ। त्यसैमा खोलाले बगाएर ल्याएका पशुको दुर्गन्धले झनै समस्या भएको छ। हालसम्म पनि कतिपय घरधुरीमा पानी र विद्युत् अवरुद्ध भएकाले सरकारले यसको व्यवस्थापन चाँडै गरिदिनुप¥यो।’
 

कमेन्ट लोड गर्नुस